टिका बस्नेत,
दाङ, चैत १७ । प्रदेश ५ सरकारले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित प्रदेशका ३ स्थानमा कोरोना भाइरसको परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्री परिषद्को बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसर र नेपालगञ्जको भेरी अस्पतालमा तीन दिनभित्रै कोरोना भाइरसको परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण बिरुद्ध प्रदेश सरकार लडिरहेको भन्दै बैठकले १२ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् एम्वुलेन्स चालकका लागि पिपिई उपलब्ध गराउने निर्णय गरेको छ । सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुलाई सम्बन्धित जिल्लामा समूह बनाई पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कोरोनाको महामारीको बेला निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले यातायातका साधनको पास र सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्नुपर्ने निर्णय बैठकले गरेको छ । साथै बैठकले खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्वाइन मेसिनलगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।