तुलसीपुर, चैत १६ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको आशंकामा उपचाररत थप तीन जनाको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ । चैत ९ गते बुटवलवाट आएको चिकित्सकको टोलीले संकलन गरेको नमुनाको परीक्षण राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकु काठमान्डौंमा भएको थियो ।
एक हप्ता पछि सार्वजनिक रिपोर्टले उनीहरु तीनै जनामा कोरोना भाइरस नभएको पुष्टि भएको छ । झन्डै दुई हप्ता अगाडि प्रतिष्ठानको आइसोलेसनमा बसेर उपचाररत घोराहीका एक युवा र गढवाका दुई युवाहरुको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले आइतवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
हाल नेगेटिभ रिपोर्ट आएका यी तीनै जना युवा भारतवाट आएका थिए । नजिता नेगेटिभ आएसंगै आइतवार नै सबैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाने डिस्चार्ज गरेको छ । तर प्रतिष्ठानले थप १४ दिन घरको क्वारेन्टाइनमा बस्न सल्लाहपनि दिइएको छ ।
यसभन्दा पहिलेपनि प्रतिष्ठानमा उपचाररत जापानबाट आएका घोराहीका एक युवा र गढवा गाउँपालिकाको एक युवाको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।
हालसम्म प्रतिष्ठानमा कोरोनाको आशंकामा उपचारत पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । यो बाहेक तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा थप ६ जनाको उपचार भइरहेको छ । त्यसमध्य एकजना चैत ६ गते कतारवाट संगै आएकी कोरोनाको संक्रमित पुष्टि भइसकेकी युवती संगै आएकी युवतीपनि छन् । उनीहरुको रिपोर्ट भने आउन बाँकी नै छ ।