दाङ, चैत १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यावसहितको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन हुने भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको पहलमा प्रतिष्ठान कोरोना विशेष अस्पताल बन्ने भएको हो ।
प्रदेश ५ मा ४ ओटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको भन्दै मुख्यमन्त्री शंकर पोख्रेलले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ल्यावसहितको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याउने बताएका छन् ।
मुख्यमन्त्री पोख्रेलले शुक्रबार फेसबुक स्टासमा त्यो कुरा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘माननीय स्वास्थमन्त्रीसँगको कुराकानीपछि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान ल्यावसहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन हुने भएको छ।’
दाङको बेलझुण्डीमा ३० बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको केही दिनभित्रै मुख्यमन्त्री पोख्रेलको सक्रियतामा प्रतिष्ठानमा ल्यावसहितको कोरोना विशेष अस्पताल सञ्चालनमा आएसँगै कोरोनाको उपचारमा सहज बन्ने भएको छ । जिल्लाका सरोकारवाला निकायहरुको आग्रहपछि मुख्यमन्त्री पोख्रेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग कुराकानी गरी प्रतिष्ठानलाई ल्यावसहितको कोरोना विशेष अस्पताल बनाउन पहल गरेका थिए ।
जिल्लाका सरोकारवाल निकायसँगको छलफलमा उपस्थित नभई प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले सरकारले प्रतिष्ठानलाई सहयोग नगरेको सामाजिक सञ्चालमार्फत् जानकारी गराउँदै आएकी थिइन । गत चैत १२ गते प्रदेश ५ का संघीय मामीला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा दाङको बेलझुण्डीमा आयोजित जिल्लाको स्वास्थ्य व्यवस्थापनको बैठकलाई उपकुलपतिले बहिस्कार गरेको आरोप लागेको छ ।
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, राप्ती प्रादेशीक अस्पताल, आयुर्वेदिक अस्पताललगायतका स्वास्थ्यसँग सम्बन्धित सरोकारवालाहरुको बैठकमा उपकुलपतिलाई आमन्त्रण गरिएको भए तापनि उहाँ अनुपस्थित थिए ।
प्रदेश ५ सरकारद्वारा स्थापित कोरोना विशेष अस्पतालका लागि जनशक्तिको व्यवस्थापन गर्नका लागि बोलाइएको बैठक डा. भण्डारीका अनुपस्थितिका कारण १ घण्टा ढिलो गरी सञ्चालनमा आएको थियो । यो संगै दाङमा अब दुई वटा कोरोना विशेष अस्पताल सञ्चालनमा आउने भएका छन् ।