
तुलसीपुर, चैत १३ । बुधवारदेखि सञ्चालनमा आएको तुलसीपुरको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पताल कसरी थप व्यवस्थित गर्ने भन्ने वारेमा विहीवार घोराहीमा छलफल भएको छ । बिशेष अस्पताल परिशरमा क्यान्टिन सञ्चालन गर्ने र स्थानीय तहरुले उपलब्ध गराउने जनशक्तिका बारेमा छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङमा विहीवार विहान प्रदेश नम्बर ५ का आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा बेलझुण्डीको कोरोना अस्पताल व्यवस्थित गर्ने बारे छलफल भएको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालका अनुसार जिल्लाका दश वटै पालिकाका प्रमुख लगाएत स्वास्थयकर्मीसंग पनि छलफल गरिने भएको छ । विशेष अस्पतालमा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएवाट जनशक्ति आउने भएका छन् । उनले विहीवारदेखि जिल्लाका सम्पूर्ण कोरोना आशंका गरिएका विरामीलाई बेलझुण्डीस्थित विशेष अस्पतालमा लैजाने निर्णय भएको जानकारी दिए ।
प्रदेश नम्बर ५ सरकारले साविक राप्ती अञ्चलको आइसोलेसन केन्द्रका रुपमा बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आर्युेवेद संस्थानको केन्द्रीय आर्युेवेद विद्यापिठलाई कोरानो विशेष अस्पताल बनाएको हो । जहाँ पहिले नै आर्युेबेदले आफ्नो ७० सिट क्षमताको अस्पताल सञ्चालन गर्दैै आएको थियो ।
एक सय बेड क्षमताको निर्माण गर्ने भनिएको कोरोना विशेष अस्पतालमा हाल भने ३० बेडबाट उपचार सुरु गरिएको छ। बेलझुण्डीको आयुर्वेद शिक्षण अस्पतालमा यसअघि रहेका बेडहरु यथावत राखेर अन्य बेड थपेर प्रदेश स्तरको कोरोना अस्पताल निर्माण गरिएको छ ।
प्रदेश नम्बर ५ का आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसी लगाएका सरकारी पदाधिकारीले बुधवार कोरोना विशेष अस्पतालको निरिक्षण गरेका थिए ।
कोरोनाको आशंका गरिएका तथा संक्रमितहरुलाई यहाँ आइसोलेसनमा राखेर स्वाब परिक्षण लागि काठमान्डौं पठाउने गरि अस्पताल स्थापना गरिएको कानुन मन्त्री केसीले अनुगमनका क्रममा जानकारी दिएका छन् ।कोरोना विशेष अस्पतालमा प्रदेश सरकारले जनशक्तिको समेत व्यवस्थापन गर्ने कानुन मन्त्री केसीले अनुगमनका क्रममा जानकारी दिए ।
प्रदेश पाँच सरकारले यो भन्दा पहिला रुपन्देही र बाँकेमा तीनवटा कोरोना बिशेष अस्पताल सञ्चालन गरिसकेको छ ।
यसैबीच बेलझुण्डीमा स्थापना गरिएको अस्पतालमा काम गर्ने चिकित्सक सहितको टिमलाई सत प्रतिशत भत्ताको व्यवस्था गरिएको कानून मन्त्री केसीले बताएका छन् । उक्त अवसरमा मन्त्री केसीले हालसम्म प्रदेश ५ मा ३७ जनाको कोरोनाको परिक्षण गरिएकोमा सबै निगेटिभ भेटिएको पनि जानकारी दिएका थिए ।