तुलसीपुर, चैत १३ । गत चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि सँगै यात्रा गरेकी दाङको बबई गाउँपालिकाकी एक युवती आइसोलेसनमा छिन ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएर उपचार गराईरहेकी ती युवतीमा हालसम्म ज्वरो, रुघा खोकी लगाएका कोरोना संग सम्वन्धित त्यस्तो कुनै लक्षणहरु देखा नपरेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।
२१ बर्षीया ती युवतीलाई बुधबार दिउँसो साढे ४ बजेतिर प्रहरीको सहयोगमा अस्पताल ल्याइएको थियो । अस्पतालका सुपरिटेडन्डेन्ट डा. सर्वेस शर्माले आएदेखि नै ती युवतीलाई उच्च निगरानीमा राखेर चेकजाँच भइरहेको भएपनि हालसम्म ती युवतीमा कोराना संग सम्वन्धित ज्वरो तथा खोकी जस्ता कुनैपनि लक्षणहरु देखा नपरेको जानकारी दिए ।
यसैबीच ती युवतीको स्वाब लिनका लागि विहीवार नै बुटवलबाट चिकित्सकको टोली तुलसीपुर आउन लागेको मेसु शर्माले बताए । स्वाब संकलनपछि उनलाई बेलझुण्डीस्थित विशेष अस्पतालको आइसोलेसनमा लगेर राखिने उनले जानकारी दिए ।
युवती कसरी दाङ आइन, अझैं सूचना संकलन भएन
अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेकी ती युवती विदेशवाट आएपछि काठमान्डौं हुँदै दाङ सम्म कसरी आइन भन्ने सूचना अझैं प्राप्त भइसकेको छैन ।
‘उनी बस वा प्लेन के बाट दाङ आएकी हुन त्यसको सोधी खोजी हुन बाँकी नै छ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्रडम्मर पालले भने ‘ त्यो काम चिकित्सकले गर्ने हो । किनकि त्यस्ता विरामीको नजिक जान आवश्यक सुरक्षित उपकरण प्रहरी संग छैनन्।’
तर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु शर्माले भने त्यो सोधपुछ गर्ने र पत्ता लगाउने काम चिकित्सकको नभइ प्रहरीको भएको प्रतिक्रिया दिए ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले ती युवती कसरी दाङ आइपुगिन र हालसम्म को कस्को सम्पर्कमा रहिन भन्ने कुराको अनुसन्धान हुने जानकारी दिएका छन् । रिजालले ती युवतीको सम्पर्कमा आएका व्यक्ति र परिवारको समेत खोजी सुरु हुने बताएका छन् ।