तुलसीपुर, चैत १२ । गत चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि संगै यात्रा गरेकी दाङ तुलसीपुरकी एक युवतीलाई प्रहरीले खोजेर अस्पताल पुर्याएको छ । बुधवार उनको खोजी गरेर प्रहरीले उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसोलेसनमा पठाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले जानकारी दिए ।
उनले सुरुमा दुईजना दाङ महिला उक्त विमानमा संगै यात्रा गरेर आएको भन्ने जानकारी आएको हुँदा दिनभर खोजी गरेपछि बल्ल त्यो झुटो रहेको पुष्टि भएको बताए । ‘प्रहरीले दिनभर अर्की महिलालाई खोज्न दुःख गर्यो, तर कतै फेला पार्न सकेन,’ प्रजिअ रिजालले भने ‘ अन्त्यमा ती महिला दाङको नभएको प्रमाणित भयो।’
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका सुपरीटेडन्डेन्ट डा. सर्वेश शर्माले ती युवतीलाई आइसोलेसनमा राखिएको जानकारी दिए । उनले भने ‘ भोलि नै ती युवतीको स्याम्पल लिन बुटवल वाट टोली तुलसीपुर आउने भन्ने सल्लाह भएको छ ।’
त्यस्तै उनले विहीवार नै ती युवतीलाई तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पठाउन प्रयास हुने जानकारी दिए । पुरानो राप्ती अञ्चलकै आइसोलेसन केन्द्रको रुपमा विकाश गरिएको बेलझुण्डी कोरोना अस्पताल बुधवारदेखि मात्रै सुरु भएको हो ।
जसको बुधवार प्रदेश नं. ५ का कानुन मन्त्री कुलप्रशाद केसी, राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएका चिकित्सक तथा पदाधिकारीले अुनगमन गरेका थिए ।