२०८० चैत्र १६ गते शुक्रवार

कपुरकोटमा झन्डै दश हजारको स्वास्थ्य परिक्षण


सल्यान, चैत ६।सल्यान कपुरकोटमा गत चैत १ गतेदेखि शुरु भएको हेल्थ डेस्कमा विहीबार दिउँसो सम्म झन्डै दश हजारको स्वास्थ्य चेकजाँच गरिएको छ ।कोरोना भाइरसको सन्त्रासका कारण राप्ती लोकमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई चेकजाँच गर्दा कसैमा पनि त्यसको लक्षण फेला नपरेको जानकारी दिइएको छ ।

कोरोनावाट जोगिन र रोगीको पहिचान गर्न भन्दै कर्णाली प्रदेश सरकार र कपुरकोट गाउँपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

६ दिनको अवधिमा नाकाबाट प्रदेश भित्रने एक हजार ७ सय ५२ यातायातका साधन रोकेर ६ हजार ७ सय ४५ पुरुष र तीन हजार ४० जना महिलाको जाँच गरिएको डेस्कका फोकल पर्सन देवेन्द्रकुमार सेनले जानकारी दिए ।

हालसम्म कुनैपनि मानिसमा कोरोनासंग सम्बन्धित लक्षण फेला नपरेको उनले बताए । गत शनिबार ९०२ जना पुरुष र ४११ जना महिला गरि कुल १३१३ जना, आइतबार १०५७ पुरुष र ४५७ महिला गरी १५१४, सोमबार १२२७ पुरुष र ४५६ गरि १६८३ जना, मंगलबार ११११ पुरुष र ४३९ महिला गरी १५५० जना, बुधबार ११४२ पुरुष र ५४४ महिला गरी १६८६ जना व्यक्तिहरुको कोरोना स्क्रिनिङ परीक्षण गरिएको सेनले जानकारी दिए । त्यस्तै विहीबार दिउँसो सम्म पुरुष १३०६, महिला ७३३ जनाको जाँच गरिएको उनले बताए ।

भारत लगाएत विभिन्न देशबाट फर्किएका नेपालीहरु कपुरकोट नाका भएर कर्णालीका विभिन्न जिल्लामा भित्रने भएकाले उच्च सतर्कता अपनाइएको गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिमबहादुर सेनले जानकारी दिए ।

सतर्कता समिति गठन हुने
विहीबार नै कपुरकोट गाउँपालिकामा स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकी प्रमुखहरु सहितको बैठक बसेको छ । बैठकले गाउँपालिका भित्र रहेका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर हेल्थ डेस्कमा चौँबिसै घण्टा चेकजाँच गर्ने, गाउँपालिका स्तरिय र वडा स्तरिय कोरोना भाइरस सतर्कता समिति गठन गर्ने निर्णय गरेको छ ।

पालिका स्तरिय समिति ९ गते कार्यपालिका बैठकबाट गठन हुने र वडा स्तरिय समिति शुक्रबार नै सबै वडामा गठन हुने स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारी दिएका छन् । बैठकले सतर्कता सम्बन्धि आवश्यक क्रियाकलापहरु सञ्चालनका लागि बजेट ब्यवस्थापन गर्न कार्यपालिकालाई अनुरोध समेत गरेको छ ।

हेल्थ डेस्कमा सुरक्षाकर्मीको समेत आवश्यकता पर्ने भएपनि त्यसको अभाव रहेकाले जिल्ला प्रहरी कार्यालयलाई थप जनशक्ति ब्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै आवश्यक औषधी तथा उपकरणका लागि प्रदेश तथा संघीय सरकारसंग माग गर्ने निर्णय पनि गरेको फोकल पर्सन सेनले जानकारी दिए । विहीवार कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन र छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले हेल्थ डेस्कको निरीक्षण गरेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *