तुलसीपुर , चैत ५ । बिक्किसिंह ठकुरीलाई बुधवार अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का रामबहादुर वलीको हत्यामा योजनाकारको भूमिका खेलेको भन्ने अभियोग खेपेका ठकुरीलाई दाङ देउखुरी ज्लिला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।तुलसीपुर ११ बेलटाकुरा निवासी २४ बर्षीय ठकुरी मंगलवार मात्रै अदालतमा उपस्थित भएका थिए ।
गत असार २९ गते दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिली निवासी २२ वर्षीय वलीको जस्पुरको जनवहार चोकमा खाजा खाइरहेको समयमा युवाहरुको एक समुहले खुकुरी प्रहार गरेको थियो ।
गम्भीर घाइते वलीको अत्यधिक रक्तस्रावका कारण दुई दिनपछि भारतको लखउन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । त्यसअघि उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र बाँकेको कोहलपुरमा उपचारको प्रयास भएको थियो ।
वलीलाई खुकरी प्रहार गरि हत्या गरेको आरोपमा घटनाको केही बेरमै प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा तुलसीपुर १८ दूधरासका २२ वर्षीय सौरभ मल्ल, तुलसीपुर ६ का १९ वर्षीय शुभम् शर्मा, तुलसीपुर १२ कपडा देवीका २४ वर्षीय तेजेश पुन मगर, तुलसीपुर ११ बेलटाकुराका २२ वर्षीय रमेश केसी, सोही ठाउँका २० वर्षीय अमृत वली र सोही ठाउँका २२ बर्षीय भरत शाहीलाई पक्राउ गरेको थियो ।
ठकुरी वलीमाथि खुकुरी प्रहार हुँदा घटनास्थलमा उपस्थित थिएनन् । त्यतिबेला उनी काठमान्डौंमा थिए । पक्राउ गरेका युवाहरुको बयानका आधारमा तत्कालिन विक्कीलाई मुख्य योजनाकार भएको बताएको थियो । तत्कालिन प्रहरी प्रबक्ता विनोद विक्रम शाहले पत्रकार सम्मेलनमा उक्त कुरा बताएका थिए ।