तुलसीपुर,फागुन ११ । पूर्व सभामुख कृष्णबहादुर महरा मतदातालाई भेट्न सोमवार दाङ आउने भएका छन् । प्रतिनिधिसभा सदस्यमा दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित महरा त्यहाँ पुगेर आफ्ना मतदातासंग भेट गर्ने गरि आउन लागेको नेकपा दाङका जिल्ला कमिटी सदस्य यज्ञबहादुर केसीले जानकारी दिए । ‘उहाँ दाङमा एक हप्ता बस्नु हुने छ,’ केसीले भने ‘ भालुवाङदेखि हापुरेसम्म पुग्नु हुने छ।’
उनले सोमवार महराको स्वागतको लागि युवाहरु दाङको भालुवाङसम्म पुग्ने जानकारी दिए । त्यहाँपनि महराले कार्यकर्तालाई भेटघाट तथा सम्वोधन गर्न केसीले जानकारी दिए ।
‘जनतालाई आफ्ना कुरा भन्न र जनताका कुरा सुन्न उहाँ दाङ आउन लाग्नु भएको हो,’ केसीले भने ‘उहाँ दाङमा आएर मतदाताकै बीचमा रहनु हुनेछ।’ यद्यपी त्यस्ता ठूला कार्यक्रमहरु भने आयोजना नगरिएको केसीले बताए । केसीका अनुसार महरालाई लमही, घोराही लगाएका स्थानमा समेत स्वागत गरिने जानकारी दिए ।
पूर्व सभामुख महरा माथि असोज १२ गते आफ्नै कार्यलयकी एक महिला कर्मचारी माथि बलात्कार गरेको अभियोग लागेपछि उनी झन्डै ४ महिना सदरखोर कारागारमा बस्नु परेको थियो ।
यही फागुन महिनामा मात्रै काठमाडौं जिल्ला अदातलले उक्त अभियोगमा महरालाई निर्दोस ठहर गरेपछि उनी रिहा भएका हुन । रिहा भएपछि पहिलो पटक महरा आफ्नो निर्वाचन क्षेत्र दाङमा आएर कार्यकर्ता भेट्न लागेका छन् ।