
तुलसीपुर, फागुन ३ । सरकारले चर्को मुल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काममा मात्रै तल्लिन रहेको अभिनेत्री रेखा थापाले बताएकी छिन् । मिडिया नेपाल दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले त्यस्तो बताएकी हुन् ।
राष्टिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य समेत रहेकी थापाले अहिलेको दुई तिहाई सरकार हत्या, हिंसा, बलात्कार जस्ता जंघन्य अपराधिक गतिविधिमा संलग्न रहेको तथा कानुनको दायरामा ल्याउन नसकेको आरोप समेत लगाइन् ।
विदेशमा रहेका नेपालीको रेमिट्यान्सले देश चलेको बताउँदै सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थुपार्ने काम अहिलेको सरकारले गरिरहेको उनको भनाई छ । उनले भनिन् ‘अहिलेको सरकारमा गफ मात्रै बढि गर्ने तर देखिने गरी काम नगर्ने प्रबृत्ति पाइएको छ।’
पछिल्लो समय सामाजिक सेवामा समेत सक्रिय बनेकी अभिनेत्री थापाले चलचित्र बाट मनोरञ्जन मात्र नभएर शिक्षा पनि लिनुपर्ने बताइन । अब आउने आफ्ना चलचित्रहरु महिला हिंसा, चेलिबेटी बेचबिखन, अन्याय अत्याचार बिरुद्ध हुने उनले बताइन । मिडिया नेपाल दाङका अध्यक्ष तेज वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।