दाङ, माघ २३ । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल)का छात्राले आवश्यकता पर्दा अब एटिमवाटै सेनेटरी प्याड प्राप्त गर्न सक्ने भएका छन् । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विद्यालयलाई भेन्डिङ मेशिन उपलब्ध गराएपछि एटिमवाटै सेनेटरी प्याड प्राप्त गर्न सजिलो हुने भएको छ ।
दाङमा केहिसमय पहिले मात्रै शाखा बिस्तार गरेको उक्त बैंकले बिहीवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो । बैंक केन्द्रिय कार्यालयका कर्जा प्रमुख बासुदेव मल्ल र घोराही शाखा प्रमुख चेतन पराजुलीले सरस्वती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिवेक श्रेष्ठ र प्रधानाध्यापक बसन्ता पौडेललाई मेसिन हस्तान्तरण गरेका हुन ।
यो भेन्डिङ मेसिनबाट छात्राहरुले महिनावारीको समयमा आवश्यक पर्ने प्याड आवश्यकता अनुसार निकाल्ने सक्ने छन् । मेसिनमा एक पटकमा ५० वटा सेनेटरी प्याड राख्न मिल्ने र उक्त प्याड आवश्यकता अनुसार छात्राहरुले अटोमेटिक रुपमा निकालेर प्रयोग गर्ने ब्यवस्था गरिएको छ । यो सुविधावाट महिनाबारीको समयमा छात्राहरु विद्यालय नआउने क्रम अन्त्य हुने अपेक्षा गरिएको प्रधानाध्यापक बसन्ता पौडेलको बताइन ।
बैंकले सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मेसिन विद्यालयलाई उपलब्ध गराएको कर्जा प्रमुख मल्लले बताए । मेसिन हस्तान्तरण कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षता र तिनाउ मिसन डेभलपमेन्ट बैक केन्द्रिय कार्यालयका कर्जा प्रमुख बासुदेव मल्लको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेल, बैंकका घोराही शाखा प्रमुख चेतन पराजुली, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगी र दिपक श्रेष्ठ लगायतकाले मनतब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक हेमराज शर्माले गरेका थिए ।