२०८१ असोज २९ गते मङ्गलवार

डेग, स्पिकरको प्रयोगले मादलको महत्व घटाउँदै छ – पवित्रा बादी

मादल बजाउदै पबित्र बादी ।  तस्बिर : राजेश खत्री

राजेश खत्री,
दाङ,कात्तिक ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ नयाँ बस्ति निवासी ४२ बर्षीया पवित्रा नेपाली बादीले १५ बर्षको उमेरदेखि नै मादल बनाउँदै आएकी छन् । चाड पर्वमा उनलाई झनै कामको चाप बढी हुन्छ । तीज यता तिहार भन्दा केही दिन अगाडिसम्म उनले ७० वटा मादल निर्माण गरेर बेचिन । मादल किन्ने ग्राहकहरु उनको घरमै पुग्छन् । पबित्राको सस्तोमा दुई हजारदेखि आठ हजार सम्मका मादल किन्न पाइन्छ ।

उनले एक्लै मादल बनाउने गर्छिन । काठलाई बसुलाले ताछेर आकार प्रकार दिने,त्यसलाई आकर्षक र चिल्लो पार्ने,खरी लगाउने, डोरीले कस्ने जस्ता जम्मै काम उनी एक्लैले गर्दै आएकी छन् । मादल बनाउन गोरु र बाख्राको छाला तथा खरीको लागि कालो किट (ढुङ्गा) चाहिन्छ । काठ र छाला पवित्राले अरुवाटै किन्ने गर्छिन । ढुङ्गा भने आँफै खोलाहरुमा गएर खोजेर ल्याउँछिन ।

पबित्राका अनुसार खमारीको काठ मादल बनाउन सबै भन्दा उत्तम हुन्छ । त्यसपछि भिर्कुट र खिर्रौको काठबाट पनि मादल बनाउने गरिन्छ ।

ढुङ्गालाई पिसेर मादलमा लगाउने खरी (गोटी) तयार पारिन्छ । गोरुको छाला काटेर बर्ता (डोरा) बनाउने गरेको पबित्राले बताइन । बाख्राको छाला मादलको दुई पट्टीको खरी लगाउने भाग मोड्नको लागि प्रयोग गरिन्छ । त्यसरी मादल किन्न ग्राहक पबित्राको घरमै आइपुग्छिन ।

उनीहरुलाई तयार मादल बजाएर सुनाउने काम पनि पबित्रा आँफैले गर्छिन । चित्त बुझ्दो स्वर नभए घर हतौडाले ठोक्छिन । अनि घरि मादलको बर्ता खुट्टाले च्यापेर तान्ने गर्थिन ।

पवित्रका अनुसार यो उनको पुस्तानी पेशा हो । १५ बर्षको उमेरदेखि नै उनले बाबु लालसिंह बादीसंग मादल बनाउन थालेकी हुन । अरु दिदी बहिनी देह व्यापारमा लागेपनि उनलाई त्यो मन परेन । त्यसैले उनले मादल बनाउने पेशा रोजिन । यो बीचमा उनले घर निर्माण गर्ने ठेक्का पट्टाको काम पनि गरिन ।

औपचारिक कक्षा ५ सम्म मात्रै पढेकी उनलाई त्यही शिक्षाले देहव्यापार गलत हो भन्ने ज्ञान दिलाएको उनी बताउँछिन् ।
साथीहरुले समेत उनका आफन्त तथा दिदीबहिनीले गरेको देहव्यापारको घृर्नागर्थे । त्यसवाट समेत उनलाई देहब्यापार ठिक हैन भन्ने लाग्यो । यद्यपी उनलाई घर परिवार बाटै समेत देहव्यापार गर्न ठूलो दवाब आएको पवित्रा बताउछिन । ‘बरु म मजदुरी गर्न गए, इट्टा भट्टामा इट्टा बोक्न गए,तर देहव्यापार गरिन,’ पबित्राले भनिन् ।

मादल धेरै विक्रि हुने सिजन भएको चाडपर्वको समयमा हो । अघिपछि उनले तयार पारेका मादल बजारमा लगेर बेच्छिन् । मादल बनाएर उनको घर गृहस्थि चलेकै छ । ‘ खान पुग्छ,तर धेरै कमाइ भने हुँदैन,’ पवित्राले भनिन् ‘ पछिल्लो समय डेक स्पिकरले मादलको महत्व घटेको छ।’

उनले सांस्कृतिक महत्व तयार पारेका मादल विक्र गर्न राज्यले निश्चित ठाउँको व्यवस्थापन गरिदिए राम्रो हुन्छ भन्ने पवित्राको बुझाई छ । पवित्रालाई मौलिक पर्व तिहारमा खेलिने देउली भैलोमा डेक स्पीकर बजाएको राम्रो लाग्दैन । आफ्नो संस्कृति जोगाउन सबैले भूमिका खेल्नु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *