
दाङ,भदौ २८ । तुलसीपुरको राप्ती लाईफ केयर हस्पिटलमा शनिवार बेलुकादेखि तनाव उत्पन्न भएको छ । सल्यान जिल्ला निवासी एकजना बालकको मृत्यु पछि हस्पिटलमा पीडित पक्षले नारावाजी गर्नुको साथै घेराउ गरेका छन् । त्यहाँ प्रहरीले पहरा दिइरहेको छ ।
सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं. ६ निवासी ४ बर्षीय बालक डिल्ली परियारको शुक्रवार छिमेकी देश भारतको दिल्लीमा उपचारका क्रममा मृत्यु भएको थियो ।
परियारको उपचार सुरुमा ६ दिन पहिले (भदौ २२ गते) तुलसीपुरको यही हस्पिटलमा उपचार भएको थियो । उक्त दिन परियार हाल अध्यनका लागि आँफु बस्दै आएको ठाउँ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क आफन्त संग हिडेरै लाईफ केयर हस्पिटलमा उपचारका लागि आएका थिए । आमा अस्मिता छोराको अध्यनको लागि तुलसीपुरमा आफन्तको घरमा बस्दै आएकी छन् । अस्मिताका पति भने रोजगारीको सिलसिलामा विदेशमा छन् ।
परियारलाई पिशाव वन्द हुने समस्या थियो । नाताले हजुरआमा पर्ने बेलमती परियारको घरमा डिल्लीका आमा छोरा बस्दै आएका छन् । बेलमतिका अनुसार भदौ २० गते डिल्लीको उपचार घर नजिकैको एक नीजि क्लिनिकमा भयो । ती मेडिकल सञ्चालकले पिशाव सम्वन्धी समस्या जटिल हुने हुँदा लाईफ केयर हस्पिटलमा लैजान सुझाएका थिए । तर त्यहाँको उपचारले डिल्ली सञ्चो भए । दुई दिन पछि डिल्लीको पिशाव फेरि रोकियो । त्यसपछि भने ती मेडिकल सञ्चालकको सुझाव अनुसार डिल्लीलाई लाईफ केयर हस्पिटल २२ गते करिव विहान ११ बजेतिर लगियो । हस्पिटलमा पु¥याउन वित्तिकै कुनैकुराको जाँच नगरी बालक डिल्ली परियारलाई इञ्जेक्सन दिइयो । बेलमती परियारका अनुसार भिडियो एक्सरे, रगत जाँच जस्ता कुनैपनि कुरा भएनन् । सुई लगाए लगतै बालक अचेत भए । त्यसपूर्व आमा अस्मिताले कुनै चेकजाँच नगरी हत्तन पत्त सुई नलगाउन चिकित्सकलाई आग्रह गरेकी थिइन । उनको कुरा सुनिएन । बच्चा अचेत भए लगतै चिकित्सक आत्तिए । उपचारका लागि बाँके तत्काल लैजानु पर्ने सझाए । चिकित्सकले आँफै एम्वुलेन्स मगाए ।
मेडिकल अफिसर डा. श्रीधर खड्का र एचए युवराज शर्मापनि एम्वुलेन्समा संगै गए । आमा अस्मिताको दाबी अनुसार त्यतिबेला उनको छोरा डिल्लीको मृत्यु भइसकेको थियो । तैपिन नाटक गर्न बाँकेको नर्सिंङ होममा लगियो । नर्सिङ होममा पु¥याउँदा बच्चाको साश ५० प्रतिसत मात्रै छ भन्ने जानकारी दिइयो । त्यसपछि बच्चालाई भेन्टिलेटरमा राखियो । पीडित बच्चाको आँखामा भने व्याण्डेज लगाईएको थियो । आफन्तलाई नजिक वाट हेर्न र भेट्न सम्म दिइएन । पीडित पक्षका अनुसार त्यहाँ ५ दिन सम्म त्यसैगरी उपचारको नाटक गरियो । भदौ २७ गते नरसिंह होमले थप उपचारको लागि भारतको लखनउ लैजान सुझायो । आमा अस्मिताले त्यसै गरिन । साथमा आफन्त गुमानसिंह परियार पनि थिए ।
भारत लैंजादापनि बालक डिल्लीको आँखामा पट्टी नै बाँधिएको थियो । भारतको राहात हस्पिटलमा पु¥याए लगतै डिल्लीलाई मृत घोषणा गरियो । त्यहाँ चिकित्सकले बालक डिल्ली परियारको निमुनिया विग्रिएको हुँदा मृत्यु भएको भन्ने जानकारी दिएको गुमानसिंह परियारले बताए । सुरुको गलत उपचारले बच्चा झनैं समस्यामा परेको भन्ने उनीहरुले त्यही जानकारी पाएका रहेछन् ।
त्यहाँ वाट शनिवार एम्बुलेन्स सहित मृत बच्चालाई आमा अस्मिताले सोझै तुलसीपुर स्थित राप्ती लाईफ केयर हिस्पटलमा ल्याइन । त्यहाँ अरुपनि जुटे । हस्पिटलको गलत औषधी उपचारले बालकको मृत्यु भएको भन्दै नारावाजी हुन थाल्यो । उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग उनीहरुले गर्दै हस्पिटल घेराउ गरे । तोडफोडको आशंका बढेपछि प्रहरीले पहरा दिनु परेको छ । सुरक्षाको लागि ईप्रका तुलसीपुरका डिएसपी हरिहर नाथ योगी आँफै खटिएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा वार्ताको प्रयास भइरहेको छ । बाहिर नारावाजी र हो हल्ला भने कायमै छ ।
हस्पिटलले उपचारमा कुनै त्रटि गरेको छैन – अध्यक्ष रिजाल
राप्ती लाईफ केयर हस्पिटल तुलसीपुका अध्यक्ष हरि रिजालले भने उपचारमा कुनैपनि त्रुटि नगरेको दाबी गरेका छन् । आँफु आफ्नो पार्टीको काम विशेषले बर्दिया रहेको बताएका उनले बाहिर अरु कुनै अस्पतालमा मृत्यु भएको बच्चालाई त्यहाँ ल्याएर दोष लगाउनु सरासर गलत भएको बताए । ‘कसैले उक्साएर यो सबै भएको हुनुपर्छ । यहाँ कसैले षडेन्त्र गरेको हुनुपर्छ,’ अध्यक्ष रिजालले फोनमा भने ।
बाँकेको नसिंङ होममा केही गर्न नसकेर तुलसीपुरमा आएर उपचारमा लापरवाही भयो भन्नु जायज नहुने उनले तर्क गरे । हस्पिटलले आँफै एम्वुलेन्स बोलाएर चिकित्सकसहित किन पठाएको हो ? भन्ने प्रश्नमा अध्यक्ष रिजालले आँफुहरुले यसअघि पनि त्यसै गर्ने गरेको बताए । ‘त्यो त हस्पिटलले विरामीलाई लगाएको ठूलो गुण हो । धेरैले हामीलाई चिकित्ससहित पठाउँदा धन्यवाद दिनु भएको छ,’ अध्यक्ष रिजालले भने । तर उनले समस्या समाधानका लागि छलफल भइरहेको भन्ने जानकारी आँफुले पाएको हुँदा तत्काल कुनैपनि समाचार नलेख्न आग्रह पनि गरे ।