प्रथम राष्ट्रपति रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारीलाई हस्तान्तरण गर्दै पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको आत्मकथा शनिबार बिमोचित भएको छ ।
पुस्तक विमोचन गर्नुअघि खरेलले राजनीतिशास्त्री हरि शर्मासँग संवाद गर्दै पुस्तक लेख्नुका कारण खुलाएका थिए । ‘जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र माओवादी द्वन्द्व नेपाली इतिहासकै महत्वपूर्ण घटना हुन्, जसमा म प्रहरी अधिकृतका रुपमा सक्रिय रहेँ’ खरेलले भने, ‘ऐतिहासिक घटनामा मैले देखे-भोगेका तथ्यहरुलाई इमान्दारिपूर्वक सबैका सामू पेश गरेको हुँ ।’
पुस्तकको सुरुवातै दुनै आक्रमणबाट भएको छ, जसका कारण खरेलले प्रहरी प्रमुखबाट राजीनामा दिनु परेको थियो । त्यसअघि पनि उनी दोश्रो पटक आईजीपी नियुक्त गरिएका थिए । ‘नेपाल प्रहरीको इतिहासमै दुइपटक आईजीपी हुने एक्लो ब्यक्ति पनि म मात्रै हुँ’ खरेलले भने, ‘यो सब किन र कसरी भएको थियो भन्ने यथार्थ विवरण नराखिदिँदा अरु कसैले गलत ब्याख्या नगरिदिउन् भन्ने हिसाबले पनि किताब लेखेको हुँ ।’
मुलुकमा खुलापनसँगै भएका राजनीतिकरणले विभिन्न संगठनहरु ‘प्यारालाइज’ हुँदै गएको उनले बताए ।
पछिल्लो समय संगठनमा आफूभन्दा व्यावसायिक र तालिमयुक्त अधिकृतहरु हुँदाहुँदै पनि अति राजनीतिकरणकै चपेटामा परेर संगठनको कार्यक्षमतामै प्रश्नचिन्ह उठ्दै गएको उनले प्रष्ट पारे ।
‘पुस्तकमा यथार्थ राख्न खोज्दा कतिपयलाई नमिठो लाग्ने सन्दर्भ आएको हुनसक्छ,’ खरेलले भने, ‘मुलुक र संगठनले भोगेका घटना दर्शाउँदै आगामी पुस्तालाई सजग बनाउन इमान्दार हुनुपरेको हो ।’
खरेल कुनै समय नेपालको राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन् । फुटबल खेल्ने मोहले गर्दा नियतिले डोर्याएर आफू प्रहरी बन्न पुगेको र कर्मले आईजीपीसम्म पुर्याएको उल्लेख गरे।
कार्यक्रममा पूर्वराष्ट्रपति यादवले मुलुकको महत्वपूर्ण घटनाक्रमका साक्षी खरेलको अनुभव नयाँ पुस्ताका नेपालीहरुको निम्ति उपयोगी हुने उल्लेख गरे ।
कार्यक्रममा द्वन्द्वका बेला ज्यान गुमाएका प्रहरीहरुको मृत्यु आफ्नो जीवनकै दुःखद् घटनाको रुपमा अथ्र्याइरहँदा खरेल भावुक बनेका थिए । उनी बोल्दाबोल्दै अड्किए । पुस्तकबाट प्राप्त रकम अमर प्रहरीका परिवार र तिनका सन्तानको शिक्षादीक्षाका लागि प्रदान गर्ने बताए ।