म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासललाई पराजित गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युनाइटेडले न्युक्यासलमाथि ३-२ गोलको संघषपूर्ण जित निकालेको हो ।
सुरुवाती समयमै २-० गोलको अप्रत्यासित तरिकाले पछि परेको युनाइटेडले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । युनाइटेडको जितमा हुवान माटा, एन्थोनी मार्टियल र एलेक्सिस सान्चेजले गोल गरे भने न्युकासलका लागि केनेडी र योसिनोरी मुटोले गोल गरेका थिए ।
सातौं मिनेटमा नै केनेडीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्थात खेलको १०औं मिनेटमा नै न्युक्यासलका लागि मुटोले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै न्युक्यासलले युनाइटेडमाथि २-० गोलको अग्रता बनाएको थियो ।
तर दोस्रो हाफमा भने युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७०औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई २-१ गोलको स्थितिमा पुर्याएका थिए ।
त्यसको ६ मिनेटपछि मार्टियलले गोल गरेपछि युनाइटेडले न्युक्यासलसँग २-२ गोलको बराबरी बनाएको थियो । खेलको ९०औं मिनेटमा सान्चेजले गोल गर्दै युनाइटेडलाई ३-२ गोलको जित दिलाए ।