एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघेको छ।
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले करिब ६ हजार भवनमा क्षति पुर्याएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तीमा १ हजार ९३२ जनाको ज्यान गएको छ। अहिले उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रपति एर्दोआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।
प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार