मेवालाई मीठो फलको रूपमा लिने गरिन्छ। जुनसुकै मौसममा पनि मेवा सर्वसुलभ रूपमा पाइने फल हो। खाँदा मीठो हुने भएकाले मेवालाई धेरैलाई मनपर्ने फलफूलको रूपमा लिने गरिन्छ। मेवा खान जति मीठो हुन्छ, यसमा पाइने विभिन्न खालका भिटामिनहरूले गर्दा मेवा खानु हाम्रो शरीरका लागि फाइदाजनक पनि मानिन्छ। मेवालाई भिटामिन एको प्रमुख स्रोतको रूपमा लिने गरिन्छ। यसका साथै मेवामा पोटासियम तथा क्याल्सियम तत्त्व पर्याप्त रूपमा पाइने गर्छ। यसले गर्दा नियमित रूपमा मेवा खाने गर्नाले पेट तथा मुटुका लागि राम्रो हुनुका साथै यसले हाम्रो छालालाई समेत राम्रो बनाउने गर्छ।
१. मेवामा प्रशस्त मात्रामा भिटामिन बी पाइन्छ, जसले गर्दा रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै आँखाको दृष्टि, छाला र श्वासप्रश्वासका लागि राम्रो मानिन्छ। भिटामिन एको कमी गर्भवती महिलाका लागि खतरापूर्ण हुने भएकाले नियमित रूपमा गर्भवतीले मेवा खानु फाइदाजनक मानिन्छ।
२. मेवामा प्रशस्त मात्रामा फोलिक एसिड तथा भिटामिन बी पाइने गर्छ। गर्भवती महिलाले नियमित रूपमा मेवा खाने गर्नाले यसमा पाइने फोलिक एसिडले आमाको पेटमा बच्चाको वृद्धि र किकास राम्रोसँग हुने तथा अपांग बच्चा जन्मने सम्भावना धेरै कम हुन्छ।
३. मेवामा पर्याप्त फाइबर पाइने गर्छ। यसले गर्दा नियमित रूपमा मेवा खाने गर्नाले कब्जियत तथा अन्य पाचन प्रक्रियासम्बन्धी समस्या भएकाहरूका लागि मेवा खानु राम्रो मानिन्छ।
४. नियमित रूपमा मेवा खाने गर्नाले कलेजोको समस्या भएकाहरूका लागि राम्रो हुन्छ। अझै जण्डिसको समस्या भएकाहरूका लागि नियमित रूपमा मेवा खानु राम्रो मानिन्छ। मेवाले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न राम्रो मानिन्छ।
५. मेवा मात्रै होइन, मेवाभित्र रहेको बियाँ पनि स्वास्थ्यका लागि निकै फलदायी मानिन्छ। यसमा जीवाणु प्रतिरोधी गुण हुने भएकाले यसको नियमित सेवनले शरीरमा एन्टिबायोटिकको काम गर्ने भएकाले शरीरमा हुने विभिन्न संक्रमणबाट बचाउँछ। यस्तै, मेवाको बियाँलाई मसिनो बताएर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिँदैन र घाउ छिट्टै निको हुन्छ।
६. मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकाले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ साथै यसले रगतलाई सफा पनि बनाउँछ।
७. नियमित मेवा खाने गर्नाले रगतमा कोलेस्ट्रुोल धेरै भएकाकाहरूलाई राम्रो हुन्छ। मेवामा धेरै फाइबर पाइने भएकाले यसले रगतको कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ। मेवामा भएको इन्जाइमले कोलस्ट्रोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ।
८. मेवाको जुस खानाले मलद्वारको संक्रमण हटाउन सहयोग गर्छ। यस्तै, नियमित मेवा खानाले आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई यो लाभदायी मानिन्छ। यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ। एजेन्सी