दाङ,मंसिर ७ । तुलसीपुर उपमहानगरपलिकाको सम्मुखमा रहेको तरकारी बजार आइतवारदेखि नयाँ ठाउँमा सर्ने भएको छ । तुलसीपुर तरकारी व्यवसायी समितिका अध्यक्ष झुपाल खड्काले सब्जिमण्डी आइतवारदेखि सेन्टर माविको जग्गमा निर्मित संरचनामा सर्न लागेको जानकारी दिए ।
यो सब्जिमण्डी निर्माण गर्न ३६ जना फलफूल र तरकारी व्यवसायीले प्रति व्यक्ति झन्डै साढे ३ लाख रकम संकलन गरेका थिए । व्यवसायीले कुल १ करोड २६ लाख र तुलसीपुर उपमहानरपालिकाले १ करोड १० लाख लगानी गरेर स्कुलको जग्गामा नयाँ सब्जिमण्डी निर्माण गरिएको छ । अध्यक्ष खड्काले २०७५ साल असार २१ गते भएको सम्झौंता अुनसार गत वर्ष माघदेखि लागु हुने गरि विद्यालयलाई भाडा बुझाउन सुरु भइसकेको जानकारी दिए । विद्यालय प्रशासन, उपमहानगरपालिका र व्यवसायिका बीचमा भएको त्रिपक्षय संझौंता अनुसार प्रत्येक वर्ष जग्गाको ५ प्रतिसतले बृद्धि गर्ने सहमति रहेको छ ।
सेन्टर माविको १० कठ्ठा जग्गा २० बर्षको लागि भाडामा लिएर तुलसीपुर उपमहनगरपालिकाले यहाँ नयाँ सब्जिमण्डी निर्माण गरेको हो । जम्मा ३६ वटा स्टल निर्माण गरिएको फलफूल व्यवसायीका ३९ वटा र तरकारी व्यवसायीका १७ वटा स्टलहरु निर्माण गरिएका छन् ।
भोलिदेखि फुथपाथमा तरकारी र फलफूल बेच्न नपाइने
विद्यालयको जग्गामा नयाँ सब्जिमण्डि निर्माण भएपछि अब आइतवारदेखि तुलसीपुर बजार क्षेत्रमा फूथपाथमा तरकारी र फलफूलको व्यापार गर्न नपाइने भएको छ । बजारलाई व्यवस्थित गर्ने उदेश्यले नयाँ निर्मित सब्जिमण्डीमा गाउँघरबाट तरकारी बेच्न आउने किसानलाई समेत निशुल्क रुपमा ठाउँको व्यवस्था गरिएको अध्यक्ष खड्काले जानकारी दिए । ‘गाउँ घरवाट तरकारी तथा फलफूल बेच्न आउने किसानले अब सडकमा बसेर व्यापार गर्नुपर्ने बाध्यताको अन्त्य हुने छ,’ अध्यक्ष खड्काले भने ‘ उहाँहरु सबैको लागि नयाँ सब्जिमण्डीमा निशुल्क रुपमा ठाउँको व्यवस्था गरिएको छ।’
यो व्यवस्था भएसंगै तुलसीपुरको बाहिनी चोक, वीपी चोक, विरेन्द्र चोक र बसपार्क क्षेत्रको पिपल बोट लगाएको आसपासको सडक व्यापार अन्त्य हुने आशा गरिएको खड्काले बताए ।