
लिलाधर वली,
दाङ, साउन १२ । प्रसिद्ध धार्मिक स्थल स्वर्गद्धारीको आम्दानी बढाउन छुर्पी उत्पादन सुरु गरिएको छ । स्वर्गद्धारी आश्रमको जग्गा उपभोग गरेका किसानहरुले उपभोग गरेवापतको अन्न आश्रमलाई दिन छोडेपछि आर्थिक संकटमा परेको आश्रमले मन्दिरको उत्पादन बढाउन आश्रममा पालिएका गाईको दुधवाट छुर्पी उत्पादन सुरु गरिएको हो ।
दाङको घोराही र लमहीमा रहेको आश्रममा पालिएका गाईको दुधवाट छुर्पी उत्पादन गर्न सुरु गरिएको आश्रमले जनाएको छ । घोराहीमा रहेको झिगौरा आश्रममा अहिले छुर्पी उत्पादन भैराखेको छ । आश्रममा पालिएका गाईवाट संकलन हुने दुधवाट छुर्पी उत्पादन गर्ने गरिएको स्वर्गद्धारी आश्रमका प्रशासनिक प्रमुख हरि अधिकारीले बताए । ‘आश्रममा पालिएका गाईवाट संकलित दुधवाट मन्दिरको आम्दानी बढाउनलाई छुर्पी बनाउन थालेका छौँ’, प्रशासनिक प्रमुख अधिकारीले भने,‘यसरी उत्पादन गरिएको छुर्पी महाप्रभुको मन्दिर स्वर्गद्धारी आउने तिर्थालुहरुले लग्ने गरेका छन ।’ छुर्पी दाङका झिगौरा र देउखुरीमा उत्पादन हुने गरेको छ ।
दाङमा उत्पादन गरिएको छुर्पी स्वर्गद्धारीमा स्थापना गरिएको कोशेली घरवाट स्वर्गद्धारी घुम्न आउने भक्तजनहरुले लग्ने गरेको समेत बताए । ‘दाङमा उन्नत जातका गाईहरु पालन गरिएको छ, त्यी गाईहरुले दिने दुधवाट छुर्पी उत्पादन गर्ने गरेका छौँ’, अधिकारीले भने । मन्दिरको दैनिक पूजापाठका लागि आवश्यक पर्ने घिउ उत्पादनसँगै बचेको दुधलाई मेसिनवाट छुर्पी बनाउने गरिएको बताए । दाङ र देउखुरीमा गरेर दैनिक ५० देखि ६० लिटरसम्म दुध संकलन हुने गरेको छ । दश लिटर दुधको एक किलो छुर्पी बन्ने र त्यसलाई कोसेली घरवाट प्रतिकेजी १२ सयका दरले विक्रि गर्दै आएको छ ।
दाङ र प्युठानमा गरि करिव सात सय गाईहरु छन । जस मध्य करिव दुई सय गाईहरु दाङमा रहेको आश्रमका अर्का कर्मचारी हरिप्रसाद पोख्रेलले जानकारी दिए । स्वर्गद्धारी मन्दिर देशकै चर्चित धार्मिक क्षेत्र हो । मन्दिरमा बर्षेनी देशका विभिन्नस्थान तथा छिमेकी देश भारतवाट हजारौ तिर्थयात्रुहरु आउने गरेका छन । छुर्पी गाई दुहेर भान्सामा ल्याएपछि त्यसलाई मेसीनमा राखेर घिउ निकालिन्छ । झिगौरामा मात्रै दैनिक एक केजी घिउ उत्पादन हुने गरेको मन्दिरका कर्मचारी पोख्रेलले बताए ।
घिउ निकालिसकेपछिको दुधलाई फटाएर पनिर वनाई त्यसलाई साँचो अर्थात मेसीनमा राखेर बनाउने गरिन्छ । त्यसरी पनिरलाई चाप्दा त्यसमा रहेको पानीको मात्रा निकालेपछि छुर्पी वनाउने आकारमा काटेर छायापर्ने ठाँउमा सुकाउनु पर्ने पोख्रेल बताउँछन । ‘म इण्डिया बस्दा त्यहाँ छुर्पी बनाउन सिकेको थिए’,कर्मचारी पोख्रेलले भने,‘धेरै बर्ष पहिले त्यहाँ सिकेको सिप अहिले आश्रममा बस्दा प्रयोग गर्दै आएको छु ।’ छुर्पी उत्पादनले मन्दिरलाई आम्दानी हुने गरेको बताए ।