
तुलसीपुर , असार २ ।
लुम्बिनी प्रदेश सरकारले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई २०० शैयाको अस्पतालमा स्तरोन्नति गर्न चार करोड विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि असार १ गते प्रस्तुत बजेटमा प्रादेशिक अस्पताल स्तरवृद्धिसम्मको विषय समेटिएको छ ।
सोमबार प्रदेश अर्थमन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा पेस गरेको बजेट बक्तव्यमा तुलसीपुर उपमहानगरपालिका – ११ सुकौरास्थित ऐतिहासिक थारु राजा दंगीशरणको दरवार क्षेत्र संरक्षणका लागि सकौरा पर्यटकीयस्थलको पूर्वाधार निर्माण र थारु संग्रालय निर्माणका लागि चार करोड बजेट बिनियोजन गरिएको बताए ।
बालबिबाह न्यूनिकरण र नियन्त्रणमा लागि प्रदेश भरका १२ वटै जिल्लाका १०९ वटा पालिकाका लागि १० करोड ९० लाख बजेट बिनियोजन गरिएको छ । त्यसका लागि लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारले धन्यबाद दिएका छन् ।

त्यस्तै, घोराहीमा प्याराडाइज बोटानिकल उद्यान तथा रुटाहा ताल पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनका लागि ११ करोड बजेट बिनियोजन गरिएको छ ।
दाङ देउखुरीमा महत्वपूर्ण सिँचाइ प्रणालीका रूपमा रहेको प्रगन्ना सिंचाइ कुलोलगायत सिँचाइ प्रणालीको सुदृढीकरण, दिगो व्यवस्थापन र सञ्चालनका लागि १५ करोड विनियोजन गरिएको अर्थमन्त्री कार्कीले बताए।
दाङको राप्ती उपत्यका (देउखुरी) मा प्रदेश राजधानी व्यवस्थापन र निर्माणको दोस्रो चरणको कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रदेश राजधानीभित्र संसदीय समितिका भवन र अन्य आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बजेट बक्तव्यमा उल्लेख गरिएको छ।
प्रदेश राजधानी गुरुयोजनाअनुरूप राजधानीभित्रका प्रमुख सडकको रेखांकन र आधारभूत संरचना निर्माणका लागि बजेट व्यवस्था गरिएको छ भने राप्ती गाउँपालिकासँगको समन्वयमा आधुनिक प्रविधिको प्रयोग गरी प्रदेश राजधानीको फोहर व्यवस्थापन गर्न अध्ययन र पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको छ।
