दाङ, बैशाख १ ।
मोटरसाइकलको सिटमुनी १४ लाख भारतीय रुपैंया फेला परेपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
यो घटना कपिलबस्तुको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार जिल्लाको मायादेवी गाउँपालिका– ८ बरकुलपुरका २१ वर्षीय अभिषेक गुप्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैंयाँसहित सोमबार दिउँसो पक्राउ परेका हुन ।
सवारी चेकजाँचका क्रममा मोटरसाइकल नरोकेर भागे पछि साधा पोशाकका प्रहरीले झन्डै ५ किलोमिटर बढी पिछा गरि कपिलबस्तु नगरपालिका – १ स्थित जिल्ला प्रशासन कार्यालय तौलिहवा नजिकै बाट उनलाई पक्राउ गरेको थियो । उनी कपिलवस्तु नगरपालिका– २ स्थित जमुवार पुल नजिक बाट सवारी चेकजाँचका क्रममा मोटरसाइकलसहित भागेका थिए ।
पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको लु – १८ प ८७४७ नम्बरको गुप्ताले चलाएको मोटरसाइकललाई पछ्याउँदै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
गोप्य सूचनाको आधारमा प्रहरीले गुप्ताल माथि निगरानी गरि बसेको थियो ।
पक्राउ पछि खानतलासीका क्रममा मोटरसाइकलको डिक्की र सिटमुनी गुप्ताले लुकाई छिपाइ राखेको अवस्थामा भारतीय ५०० दलका २४ गड्डी नोटहरु बरामद भएको डिएसपी सिंहले बताए ।
बरामद भारतीय रुपैैंयाँ थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
