दाङ, चैत २६ ।
कालीकोटमा एम्बुलेन्स दुर्घटनामा परि चालकसहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि जुम्लाको हिमा गाउँपालिका–७ मर्चीगाउँका एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही र हिमा – ६ का ३२ वर्षीय भीमबहादुर अधिकारीको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए ।
दुर्घटनामा परि हिमा – ६ का ७१ बर्षीय कलबहादुर अधिकारी र हिमा–७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीे घाइते भएका छन् । डिएसपी खत्रीका घाइते मध्य अनुसार कलबहादुरको अवस्था गम्भीर छ भने अर्का घाइते शाहीको अवस्था मध्यम छ ।
बिरामी अवस्थाका कलबहादुरलाई बोकेर जुम्लादेखि कालीकोट हुँदै सुर्खेत तर्फ जाँदै गरेको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका–२ मेयर खोला नजिकै बुधबार बेलुकी सवा ८ बजेतिर दुर्घटनामा परेको थियो ।
मृतक भीमबहादुर अधिकारी घाइते कलबहादुरका छोरा हुन । एम्बुलेन्स सडकदेखि करिब ३० मिटर तल खसेको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।