देउखुरी , चैत २५ ।
लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ मनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा दिवस मनाइएको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषी उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताए ।
मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरु सुक्दै जानु र जमिन सुख्खा बन्दै जानु गम्भीर चुनौतीका रूपमा देखिएको बताए ।
उत्पादनशील जमिन खण्डहर बन्न नदिन समयमै बहस, छलफल र ठोस योजना आवश्यक रहेको उनको कथन थियो ।
खोला नदीहरु सुक्दै जाँदा समस्या बढ्न सक्ने भन्दै उनले जलाशयहरु निर्माण गरेर पानीको स्रोत संरक्षण गर्न जरुरी रहेको बताए ।
उनले सिँचाइ सुविधा पुगेका क्षेत्रमै पनि जमिन बाँझो रहने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै सरकार किसानलाई उत्पादनमा जोड्न प्रतिबद्ध रहेको बताए ।
राज्यले लगानी गरेका सिँचाइ आयोजनाबाट अपेक्षित प्रतिफल नआउनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै त्यस्ता क्षेत्रमा खेती विस्तार गर्नुपर्ने उनले जोड दिए ।
उनले हाल प्रदेशमा सिंचाई सुविधा ३५ प्रतिशत पुगेको जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले जलस्रोत संरक्षणका लागि जलाशय, ड्याम निर्माण तथा चुरे क्षेत्रमा पानी संरक्षणका उपायहरू लागू गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले प्रदेश सरकारले बाह्रै महिना सिंचित हुने क्षेत्रको विस्तारलाई बढा इरहेको बताए ।
पूर्व सिँचाइ मन्त्री वीरबहादुर रानाले उत्पादनमा आत्मनिर्भर बन्ने आधार तयार भइ सकेको भन्दै किसानको मन जित्नेगरी काम गर्नुपर्ने धारणा राखे ।
योजना आयोगका सदस्य शान्तादेवी ढकालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सिंचाई पूर्वाधारको सुदृढिकरणमा जोड दिइन ।
प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिका सचिव भिमलाल चौधरीले कृषि क्षेत्रको विकासका लागि सरकारले सिंचाई क्षेत्र विस्तार गर्न ध्यान दिनुपर्ने बताए ।
मन्त्रालयका सचिव चूर्णबहादुर ओलीले हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गरेका थिए ।
बबई सिँचाइ आयोजना र नौमुरे बहुउद्देश्यीय आयोजनासँग सम्बन्धित प्रतिनिधिहरुले आयोजनाको अवस्था र चुनौतीबारे धारणा राखेका थिए ।
कार्यक्रममा प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समिति, देउखुरीलाई उत्कृष्ट जल उपभोक्ता समितिका रूपमा सम्मान गरिएको छ । त्यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बर्दियाका प्राविधिक अधिकृत हरिप्रसाद अवस्थी र गुल्मीका कार्यालय सहयोगी पोमनारायण सुवेदीलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको छ ।