२०८२ चैत्र २६ गते बिहिवार

बाँझो जमिन नराख्न मुख्यमन्त्री आचार्यको आग्रह


देउखुरी, चैत २४ ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गरेका छन् ।
सिँचाइ दिवस २०८२ को पूर्व सन्ध्यामा प्रगन्ना नहर सरसफाई कार्यक्रमको मंगलबार राप्ती उपत्यका (देउखुरी) मा उद्घाटन गर्दै उनले राज्यले सिँचाइको व्यवस्थापन गर्ने र किसानका समस्यामा प्रदेश सरकार साथमा रहेको बताए ।

त्यस्तै उनले किसानका वास्तविक समस्या पहिचान भइसकेको र ती समाधानका लागि स्रोतअनुसार योजना बनाइरहेको जानकारी दिए ।
देउखुरी क्षेत्रलाई अन्नको भण्डार भएको उल्लेख गर्दै उनले पछिल्लो समय जमिन बाँझो रहने र उत्पादन घट्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।

तरकारी खेतीमा किसानलाई सक्रिय हुन आग्रह गर्दै स्थानीय बजारमा बाहिरी तरकारीको निर्भरता घटाउन उत्पादन वृद्धि आवश्यक रहेको आचार्यले बताए ।
सिँचाइ सुविधा भए पनि अपेक्षित प्रतिफल लिन नसकिएको उल्लेख गर्दै उनले सबैलाई उत्पादनमुखी बन्न आग्रह गरे ।

‘कृषिको आधारः सिँचाइमा सुधार’ भन्ने मूल नारासहित उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समिति देउखुरीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा चौधरीले सिँचाइ सुविधा विस्तारमा सरकार दृढताका साथ अघि बढिरहेको बताइन ।
उनले उत्पादन र उत्पादकत्व वृद्धि गर्न सिँचाइको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै बाँझो जमिनमा समेत सिँचाइ सुविधा पुग्न थालेको बताइन ।,

प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरीले राप्ती नदीमा हुने अनियन्त्रित उत्खननका कारण सिँचाइ प्रणालीमा समस्या देखिएको बताइन ।
कार्यक्रममा मन्त्रालयका सचिव चुर्णबहादुर ओलीले सिँचाइ हुने क्षेत्रफल क्रमशः विस्तार हुँदै गएको बताए । उनले परम्परागत कुलो तथा सिँचाइका स्रोतहरूको संरक्षण र उपयोगमार्फत अधिकतम लाभ लिन सरकार सहयोगी बनेको दाबी गरे ।
कार्यक्रममा प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका सचिव शनिराम चौधरी, वड्कापथ कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरी, अगुवा किसान हल्लुप्रसाद चौधरी लगायतले किसानले भोग्दै आएका समस्याहरुबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *