दाङ, चैत १६ । नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा पक्षले कार्यक्रम गरेर नवनिर्वाचित सांसदहरूलाई बधाई दिएको छ।
काठमाडौंको धुम्बाराहीमा सोमबारको बधाई ज्ञापन कार्यक्रममा प्रतिनिधि सभा सांसदहरू विष्णु खड्का, रुक्मिणी कोइराला, रिना उप्रेती, टेकबहादुर गुरूङ, सीता थपलिया, गीताकुमारी सेन्दाङ गंगालक्ष्मी अवाल, हरिनादेवी कामी, सुशीला ढकाल र निनु कर्ण लगायत सांसद उपस्थित थिए।
त्यस्तै राष्ट्रिय सभा सांसदहरू तर्फ चन्द्र केसी, रन्जित कर्ण, खम्मबहादुर खाती, गीता देवकोटा र जगत तिमिल्सिना उपस्थित थिए ।
माघ ११ मा राष्ट्रिय सभा निर्वाचन हुँदा शेरबहादुर देउवाले कांग्रेस र नेकपा एमाले र लोसपासँग गठबन्धन गरेको थियो। त्यतिखेर कांग्रेसले राष्ट्रिय सभामा ९ सिट जितेको थियो।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचन समानुपातिकतर्फ सूचीपनि देउवाकै हस्ताक्षरमा पठाइएको थियो ।
प्रतिनिधिसभा सदस्य (प्रत्यक्षतर्फ) भने विशेष महाधिवेशनबाट सभापति बनेपछि गगन थापाको हस्ताक्षरमा उम्मेदवारहरू चुनावमा भिडेका थिए ।
पछिल्लो समय प्रतिनिधि सभामा कांग्रेसका कुल ३८ जना सांसद छन् ।
नव निर्वाचित सांसदहरूका लागि आयोजित बधाइ ज्ञापन कार्यक्रममा नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, बलबहादुर केसी, एनपी साउदलगायत सहभागी थिए।
जबकी कांग्रेस भित्र बिषेश महाधिवेशन पक्षधरले नवनिर्वाचित सांसदहरूलाई चैत १४ गते अभिमुखीकरण दिएको थियो ।
कांग्रेसमा विशेष महाधिवेशनबाट आएको कार्यसमिति र विशेष महाधिवेशनमा सहभागी नभएका समूहले समानान्तर गतिविधि गर्न थालेका छन् । बिषेश महाधिवेशनमा सहभागी नभएको समुहले चैत १७ र १८ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
उस्ले चैत १९ गते जिल्ला सभापति भेला गर्ने तयारी सार्वजनिक गरि सकेको छ ।
