२०८३ बैशाख २ गते बुधवार

देशलाई निकास दिन रुखमा मतदान गर्नुहोस – विश्वप्रकाश शर्मा


घोराही, माघ २८ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बिषम परिस्थितिबाट देशलाई निकास दिन रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

दाङ कांग्रेसले बुधबार घोराहीमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवार समेत सहभागी जिल्लास्तरीय बृहत भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले काँग्रेसकै पहलमा बिगतदेखि बर्तमानसम्मका सबै रुपान्तरण र परिवर्तन संभव भएको भन्दै यतिखेर फेरि देशलाई निकास दिन काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका हुन ।


२०६४ मा जस्तै गल्ती नदोहर्‍याउन र २०७० मा जस्तै विवेकपूर्ण निर्णय गर्न उनले मतदातालाई आग्रह गरे । त्यसपूर्व उनले २००७ सालदेखि २०४६सम्म काँग्रेसले गरेको संघर्षका कुरा गरेका थिए ।

२०६४ मा काँग्रेस दोस्रो दल बन्दा संविधान निर्माण र जारी हुन नसकेको तर २०७० मा काँग्रेस पहिलो दल बनेपछि मात्रै संविधान जारी हुन सकेको उनले बताए ।

उपसभापति शर्माले भने, ‘मूल प्रश्न कुन दलले जित्छ भन्ने होइन, विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले र्पुयाउन सक्छ भन्ने हो र त्यो निकास काँग्रेस बिना संभव छैन भन्ने तथ्य र प्रमाण बिगतले छर्लंग पार्छ ।’


उनले पहिलो संविधानसभा निर्वाचन २०६४ मा कांग्रेस दोस्रो दल बन्दा मुलुकले नयाँ संविधान पाउन नसकेको स्मरण गराए। ‘०६४ को निर्वाचनमा कांग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो तर देशले संविधान पाएन,’ उनले भने ‘तर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो दल बनेपछि दुई वर्षभित्रै देशले संविधान पायो ।’


इतिहासका विभिन्न मोडमा देशभित्रका फरक–फरक शक्ति, दल र समुदायबीच समन्वय गरेर निकास दिने सामथ्र्य कांग्रेसले देखाएको उल्लेख गर्दै उनले अब नयाँ पुस्तासँग पनि समन्वय गरी देशलाई नयाँ विश्वासको चरणमा पुर्‍याउन कांग्रेस सक्षम रहेको दाबी गरे।


उनले आन्तरिक विवाद वा असहमति भए त्यसबारे छलफल गर्ने उपयुक्त समय आगामी फागुन २१ गतेपछि हुने बताएका थिए।


कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा दाङ क्षेत्र नं. १ का उम्मेदवार पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नं. २ का उम्मेदवार किरणकिशोर घिमिरे, क्षेत्र नं. ३ का उम्मेदवार तथा पार्टीका निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्यहरु डा. गोपाल दहित, प्रदीपराज शर्मा, लीला नेपाली, पूर्व केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, सहमहामन्त्री खगराज पाण्डेय, समानुपातिक उम्मेदवार देवका नेपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुनकुमार योगीले गरेका थिए।

प्रकाशित मिति : २०८२ माघ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *