२०८२ फाल्गुन ४ गते सोमवार

‘डेढ दशकदेखिको तुलसीपुर बजार क्षेत्रको सडकको समस्यामा गम्भीर छौं’


तुलसीपुर, माघ २७ । दाङ क्षेत्र नं. ३ का बिभिन्न राजनीतिक दलका उम्मेदवारहरुले राप्ती राजमार्ग अन्तरगतको तुलसीपुर बजार क्षेत्रको करिब डेढ दशकदेखिको सडक सम्बन्धि समस्या समाधानका लागि आँफुहरु गम्भीर रहेको बताएका छन् ।


राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्च, तुलसीपुर दाङको आयोजनामा मंगलबार तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा एउटै मञ्च मार्फत उम्मेदवारहरुले बर्षौंंदेखिको अन्यौलपूर्ण सडक सम्बन्धि समस्या समाधानका लागि आँफुहरुलाई निर्वाचित गराउन आग्रह गरे ।


नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले न्यायिक रुपमा समस्या सधान गर्नु उचित हुने सुझाए । उम्मेदवार गिरीले बजार क्षेत्रमा राप्ती राजमार्गको बैकल्पिक मार्ग बनाउनका लागि पनि अदालतको आदेश बिना संभव नभएको बताए ।

संविधान समयअनुकुल परिमार्जन गरि बिकास निर्माणको क्षेत्रमा योगदान गर्नका लागि भूमिका खेल्ने उनले जोड दिए ।
‘ यसअघि पनि समस्या समाधानका लागि धेरै पटक आवाज उठाइएको हो,’ उनले भने ‘ देशका धेरै राजमार्गहरू राज्य व्यवस्थामै अल्झिएको हुँदा ती न्यायिक रुपमा समाधान गर्नु बुद्धिमानी हुने छ ।’


काँग्रेस उम्मेदवार गिरीले विकास र समृद्धि नागरिकमुखी हुनुपर्नेमा जोड दिँदै यथार्थपरक र जायज मागहरूलाई सदनमा निरन्तर उठाउने प्रतिबद्धता जाहेर गरे ।


निर्वाचनको समयमा कतिपय राजनीतिक स्टन्टबाजी हुने गरेता पनि डेढ दशकदेखिको राजमार्ग क्षेत्रका जग्गाको मुआब्जा, सडक खण्डको बिस्तार बारे उत्पन्न डेडलक समाधानको उचित उपाय न्यायिक निरुपन हुने भन्दै त्यसका लागि काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

तुलसीपुरलाई सुन्दर सहरका रुपमा बिकास गर्न, किसानलाई ढुक्कले जीवन यापन गर्न सक्ने बनाउन र गुणस्तरिय शिक्षाको बिकासका लागि आँफु निरन्तर लागि परेको भन्दै भविश्यमा पनि त्यो प्रसाय जारी राख्ने बताए ।

नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले आँफुलाई निर्वाचित गरे सडक बिस्तार सम्बन्धि समस्याका लागि सदनमा आवाज उठाउने बताए ।


‘ मलाई बिजयी गराउनु भयो भने म फेरि–फेरि दोहोर्‍याएर यो आवाज सदनमा उठाउने छु,’ पाण्डेले भने ।
आफू मेयर हुँदा ‘तुलसीपुर बनाउने अभियान’को थालनी गरेपनि कानुनी सीमाभित्र रहेर काम गर्नु पर्ने अप्ठेरोले सोचे जसरी काम गर्न नपाएको उनले बताए ।

आँफुलाई निर्वाचित गराए जनपक्षीय कानुन निर्माण, कार्यालयमा सेवा लिन जाँदा देखिने कानुनी झन्झट अन्त्य गर्ने र छिटो सेवा तथा तीव्र विकासका लागि पहल गर्ने उनले बताए ।


राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले वर्षौैंदेखि थाँति रहेका समस्याको समाधानका लागि युवाको नेतृत्व आवश्यक परेको जोड दिए ।


आँफुलाई निर्वाचित गराए रोकिएका कामलाई निरन्तरता दिन र कर्णाली प्रवेशद्वारका रूपमा रहेको तुलसीपुरलाई सुन्दर र व्यवस्थित सहर बनाउने प्रतिबद्धता उनले ब्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले राप्ती राजमार्गको अवस्थाका कारण आफू पनि पीडित बनेको भन्दै बजार व्यवस्थापनका लागि सडक फराकिलो बनाउनुपर्ने जोड दिए ।


‘यही सडक समस्याका कारण तुलसीपुर बजार नमुना बजारका रूपमा विकास हुन नसकेको हो,’ उनले भने ‘ मलाई निर्वाचित गराए यसलाई प्रमुख मुद्दाका रूपमा सदनमा उठाउने प्रतिवद्धता ब्यक्त गर्दछु ।’

राष्ट्रिय जनमोर्चाकी उम्मेदवार कमला जिसीले दिनानुदिन बढ्दो दुर्घटनाको जोखिम प्रति चिन्ता व्यक्त गर्दै सडक बिस्तार तथा स्तरोन्नति अत्यावश्यक भइसकेको बताइन । सर्वसाधारणको वर्षौंदेखिको जायज माग तत्काल सम्बोधन गर्न आँफुलाई निर्वाचित गर्न उनले आग्रह गरिन ।

कार्यक्रममा सरोकारवालाहरूले तुइँसोता हाइवे क्षेत्र बस्तीबाट करिब एक किलोमिटर दूरीमै १४ मिटर नाला निर्माण भइसकेको, आफ्नै निजी सम्पत्ति बाटोले खाइसकेको अवस्थामा पनि बस्ति क्षेत्रमा सडक फराकिलो हुन नसकेको प्रति असन्तुष्टि जनाएका थिए ।

२०३१ सालको ऐनअनुसार कानुनी संरचना बनेको भए पनि हालसम्म पनि तुलसीपुर क्षेत्रमा सडकको अवस्था जस्ताको त्यस्तै रहनु दुभाग्र्य मान्नु पर्ने सरोकारवालाहरुको गुनासो थियो ।


कार्यक्रम समितिका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको थियो भने सहजीकरण समितिका सचिव चेतन रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *