दाङ, पुस १९ । बाँकेको सौंरीमा शनिबार एक जना स्थानीयको पाटे बाघको आक्रमण बाट मृत्यु भएको छ ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका – १ कुसुम सौरीका ६३ वर्षीय मरिचमान भण्डारीको शनिबार दिउँसो पाटे बाघको आक्रमण बाट मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्गदेखि झन्डै २ किलोमिटर भित्र राष्ट्रिय निकुञ्ज भित्र गाइ बस्तु चराउन गएका भण्डारीलाई दिउँसो १ बजेतिर पाटे बाघले आक्रमण गरेको थियो ।
संगै गाइ बस्तु चराउन गएका स्थानीय पिमलाल डाँगीका अनुसार राष्ट्रिय निकुञ्जको ‘बिचार दमार’ जंगल क्षेत्रमा भण्डारी माथि एकाएक पाटे बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गर्न खोजेपछि आँफुले भागेर ज्यान जोगाउन सफल भएको डाँगीले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीयसमेत खोजीमा गएका थिए ।
भण्डारीको शब दिउँसो साढे २ बजेतिर जंगलमा फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले जानकारी दिए । भण्डारीको शब पोष्ट मार्टमका लागि अस्पताल पठाइएको छ ।