२०८३ भाद्र १० गते बुधवार

कसैले हेलिकोप्टरबाट भाग्दा पनि अहंकार त्यागेका छैनन् – प्रचण्ड

दाङ, मंसिर १३ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हेलिकप्टर बाट भाग्दा पनि अहंकार नत्यागेको बताएका छन् ।

सुदुरपश्चिम पछि लुम्बिनीको दाङ लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशस्तरिय एकता सन्देश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनता बीचको एकता कायम गर्न नसके चुनाब जितेर मात्रै केही हुँदो रहेन छ भन्ने देखिएको बताए ।

‘चुनाव जितेर मात्रै केही नाप्दो रहेन छ र हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ ठूलो कुरा जनताबीचको एकता आवश्यक रहेछ,’ उनले भने ‘ मैले संसदको रोष्टमबाटै भनेको थिए बहुमतको धेरै दम्भ नदेखाउनुहोस यस्तै अवस्था रहे कुनै दिन जनताले लेखेट्ने छन् । आज उहाँ केपीले यो सबै प्रचण्डले गरायो भन्दै हिडेको सुन्छौं तर उहाँले अझैंपनि अहंकार त्यागेको देखिदैन ।’
‘भदौ २४ गतेको विध्वँस देख्यौं केही घन्टामै देश जलाएको देख्यौं । सिंह दरबार, सर्बौच्च अदालत , प्रहरी चौकी जलाएको देख्यौं । केही घन्टामै देश बर्बाद पारी जलाउन सक्नेहरु देख्यौैं,’ प्रचण्डले भने ‘ बिगतमा हाम्रा पुर्खा लडेर, रगत बगाएर, त्याग र तपस्याले जोगाएको देशको स्वाधिनता क्षणभरमै स्वाहा भएको देख्यौं । हाम्रो राज्य संयन्त्र कति कमजोर भएको हो , हाम्रो सुरक्षा प्रणाली कति कमजोर भएको हो भन्ने लाग्यो ।’

आँफुहरुले लामो छलफल र संकल्पबाट एकै साथ १५ वटा पार्टीका बीचमा एकता गरेको कुरा जनताले उत्साहको साथ अनुमोदन गरि दिएको बताएका छन् ।


संयोजक प्रचण्डले एकता सभालाई संकल्प सभाको संज्ञा दिदै जनताको ठूलो सहभागिताले आँफुहरुको एकतालाई अनुमोदन गरेको बताएका थिए ।

उनले हरेक जातजातिको अधिकार स्थापनाका लागि लड्ने र राष्ट्रलाई उन्नतिको दिशामा लैजोन संकल्पका साथ एकै साथ १५ वटा पार्टीका बीचमा एकता गरेको भन्दै अब बिगतका कमिकमजोरी दोहरिन नदिने संकल्प गरेका थिए ।

प्रचण्डले फेरि पनि देश बनाउन बर्षौं संघर्ष र त्याग गरेका दलहरु बाट मात्रै संभव हुने बताए ।
सबै भन्दा बढी देश भक्त कम्युनिष्टहरु नै हुने दाबी गर्दै संयोजक प्रचण्डले २००६ सालदेखि जनआन्दोलनसम्म हजारौं सहिदको बलिदानी र त्यागबाट आजको परिवर्तन संभव भएको बताए ।

प्रचण्डले बिगतमा आँफु माओबादीको सर्बौच्च कमाण्डर हुँदादेखि नै माधवकुमार नेपाल संगको सहकार्य बारे पनि स्मरण गरे । ‘ म माओबादीमा सर्बौच्च कमाण्डर हुँदा माधवजी एमालेको महासचिव हुनुहुन्थ्यो,’ प्रचण्डले भने ‘ पहिलो पटक माधव कमरेडले नै बामदेब गौतम र युवराज ज्ञवालीलाई रोल्पा पठाएर वार्ता गर्नु भएको थियो । त्यसमा बादमदेब कमरेड र मैले हस्ताक्षर गरेका थियौं।’
त्यस्तै प्रचण्डले माधव नेपाल लगाएतका नेताहरु संगको सहकार्यका कारण पंचायत ढलाउन र पछिल्लो समय संघीय गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको चर्चा गरे ।

त्यसैले यतिखेर फेरि आँफुहरु ठूलो संकल्पका साथ एकतामा आएको भन्दै प्रचण्डले भविश्यमा अरुपनि आँफुहरु संग मिल्न आउने दाबी गरे । तर, त्यो बीचमा प्रचण्डले चुनाव जितेर मात्रै हुँदो रहेन छ भन्ने कुरा यसपाली स्पष्ट देखिएको पनि बताए ।

देशका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसको मिलनबाट बनेको बहुमत नजिकको सरकार छँदा पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टर बाट भाग्नु परेको प्रचण्डले बताए ।

त्यस्तै प्रचण्डले दुई चार जना कमरेडहरु बुद्धि बिग्रिएर हिडेको भएपनि ढिलो चाँडो नेपाली कम्युनिष्ट पार्टीमा नआइ सुख नहुने जिकिर गरे । एमाले भित्रका केही नेताहरु संग सहकार्यका लागि छुट्टै छलफल र संबाद हुँदै आएको भन्दै उनले भविश्यमा धेरै ब्यक्ति नेपाली कम्यूनिष्ट पार्टीमा जोडिन आउने दाबी गरे ।


त्यस्तै उनले राष्ट्रिय स्वाधिनता रक्षाको लागि शान्ति संझौंताका बाँकी कामहरु पुरा गर्नका लागि नेपाली काँग्रेस लगाएका दलहरु संगपनि सहकार्य गर्दै आँफुहरु अगाडि बढ्ने उनले बताएका थिए ।


आफ्नो मनतब्यको अन्त्यमा प्रचण्डले सत्य भन्दा टाढाका सामाजिक संजालको भर र विश्वास नगर्न आग्रह गरेका थिए । ‘सामाजिक संजालमा ताँइ न तुँइका कुरा लेख्दै पपुलिज्म कमाएकाहरुको भर नपर्नुहोस, बिदेशीले उचाल्दैमा उनीहरुले देश बिकास गर्न सक्दैनन्,’ प्रचण्डले भने ‘ गोरु व्याउने वाला छैन बरु लामो इतिहास बोकेको त्याग गरेका दलहरु र नेताहरु बाटै देशले निकास पाउँछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि एमाले अध्यक्ष केपी ओली लक्षित अभिब्यक्ति दिएका छन् ।


नेपालले केपी ओलीको नाम उच्चारण नै नगरे पनि आफूहरूले सुधार्न धेरै प्रयास गरेको भएपनि केही गरेपनि पार नलागेको बताए ।

‘मैले त कति मान्छेहरूलाई तपाईँहरूले सक्नुहुन्छ भनेर सुधार्नुस भनेको थिए,’ नेपालले भने ‘ तर, संभव भएन नानीदेखि लागेको बानी सुध्रिँदो रहेनछ । अहिले पनि मति सुध्रिन्छ भनेर रहेन छ ।’


त्यसरी सुध्रिएको ब्यक्तिलाई स्यावास भनौँला र ठूलो मालाले स्वागत गरौँला भन्ने चाहाना रहेपनि पुरा हुन नसकेको उनले बताएका थिए । अब आफूहरूको चाहना देशलाई अग्रगतिमा लिएर जानेबाहेक अरू केही नभएको भन्दै सहसंयोजक नेपालले देश र जनताको लागि सबै मानिस असल भइदिए हुन्थ्यो भन्ने कामना गरेका थिए ।

प्रकाशित मिति : २०८२ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *