तुलसीपुर , भदौ १३ । तुलसीपुर उपमहागनरपालिका – ११ बेलगनारका युवा जगत चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
४२ बर्षीय जगतको उपचारका क्रममा बाँकेमा बिहीबार मध्यराति १२ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
अम्बिकेश्वरी यातायात प्रालि तुलसीपुरका कर्मचारी जगतलाई साउन १७ गते बिहान ९ बजेतिर नियमित डिउटीका क्रममा तुलसीपुर – ११ उरहरी चोकमा प्रेसर (उच्चरक्त चाप) ले हानेको थियो ।
तत्काल उनलाई सिटी हस्पिटल तुलसीपुरमा पुर्याइएको थियो । तुलसीपुरमा उपचार संभव नभएपछि थप उपचारका लागि केही बेरमै बाँकेको नेपालगंजस्थित निउरो हस्पिटलमा रिफर गरिएको थियो ।
त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि नेपालगंज नरसिंहोममा लगेर उपचार भएको थियो ।
करिब डेढ हप्ता बढी समय नरसिंहोममा उपचार गर्दा उनको स्वास्थ्यमा धेरै सुधार भएको थियो ।
स्वास्थ्य सुधार उन्मुख रहेका जगतलाई त्यहाँ बाट थेरापीका लागि कोहलपुरस्थित कौशिल्या हस्पिटलमा राखेर उपचार भइ रहेको थियो । यो बीचमा जगतको स्वास्थ्यमा उल्लेखनिय सुधार भइ रहेको थियो । उनी साथी भाइ आफन्त र शुभचिन्तकहरु संग सामाजिक संजालमा कुराहरु गर्दै आएका थिए ।
आफन्त तथा स्थानीय युवा घनश्याम चौधरीका अनुसार स्वास्थ्यमा आएको सुधारका कारण एक दुई दिनमै जगतलाई डिस्चार्ज दिने कुरा अस्पतालले परिवारका सदस्यलाई अबगत गराइ सकेको थियो ।
तर, भदौ १२ गते राति पौने १२ बजेतिर फेरि जगतलाई दोस्रो पटक प्रेसरले हानेपछि फेरि उनी ब्यूँझिन सकेनन् । फेरि प्रेसरले हानेपछि उनलाई तत्कालै नेपालगंज नरसिंहोममा पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
अन्याय सहन गर्न नसक्ने तथा आँटिला स्वभावका जगत साथी भाइका बीचमा प्रिय थिए । उनको उपचारका लागि यो बीचमा साथी भाइले आर्थिक साहेता संकलन अभियानपनि चलाएका थिए ।
आफन्त घनश्यामका अनुसार नेपालगंज नरसिंहोममा उपचारको राम्रो प्रबन्ध गर्नका लागि नेपाली काँग्रेसका नेता तथा लुम्बिनीका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले फोन गरेका थिए । जगतका दुई छोरी र श्रीमति छन् ।
