दाङ, भदौ ५ । रुकुम पूर्वमा सर्पदंशका बिरामीलाई प्रहरी आँफैले बोकेर अस्पताल पुर्याएको छ ।
जिल्लाको सिस्ने गाउँपालिका – १ पाखापानीकी ४५ बर्षीया अमृता बुढालाई गाई गोठबाट घर तर्फ फर्किने क्रममा सर्पले बाँया खुट्टामा डसेको थियो ।
नाम नखुलेको सर्पले बुढालाई टोकेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पाखापानीबाट प्रहरी सहायक निरीक्षक बलबहादुर जिसीको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएको थियो ।
सर्पदंशका बिरामीलाई अस्पताल पुर्याउन प्रहरी र स्थानीयले स्टेचरमा बोकेर स्वास्थ्य चौकी पाखापानीमा पुर्याएका थिए ।
बुढालाई थप उपचारका लागि दिउँसो ३ बजेतिर जिल्ला अस्पताल रुकुमकोट तर्फ बोकेर लैजाँदै गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको सञ्चार शाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार
