२०८३ असार ७ गते आइतवार

लमही–घोराही सडकखण्डको मसोट खोलामा पुल मर्मत हुँदै ,चार दिन सवारी आवागमन बन्द हुने

दाङ,साउन १८ । लमही–घोराही सडकखण्डअन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्लाको प्रमुख सडक सञ्जालमा पर्ने उक्त पुल मर्मत गर्नुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले मर्मत अवधिभर विशेष सावधानी अपनाउने निर्णय गरेको हो।

निर्णयअनुसार यही साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म मसोट खोला पुलमा दुई पाङ्ग्रेबाहेकका अन्य सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ। उक्त अवधिमा सडक डिभिजन कार्यालय दाङले पुलको मर्मत गर्नेछ।

पुल मर्मत भइरहँदा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्गको रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले आग्रह गरेको छ।

ट्राफिक व्यवस्थापन तथा सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइने ट्राफिक कार्यालयले जनाएको छ।

साथै, मर्मत अवधिमा अत्यावश्यक सवारी साधनका लागि डाइभर्सन मार्गको मर्मत गरी सञ्चालन गरिनेछ। डाइभर्सन मार्ग सडक डिभिजन कार्यालयले मर्मत गर्नेछ भने ट्राफिक प्रहरीको समन्वयमा अत्यावश्यक सवारीका लागि व्यवस्थापन गरिने जनाइएको छ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *