दाङ, साउन ४ । रोल्पाको थवाङमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ ।
थवाङ गाउँपालिका वडा नं. ४ थापा खर्कका ७२ बर्षीय गोठे घर्ती मगरको ढुँगा माटोले बनेको घरे भत्किन गइ उनको मृत्यु भएको छ ।
अबिरल बर्षा पछि झरेको पहिरोले भान्सामा बसिरहेको समयमा बिहान ६ बजेतिर मगरलाई घरसहित बगाएको थियो । झन्डै १५ मिटर टाढा मगरको खुट्टा मात्रै देखिएको अवस्था रहेको र शब निकाल्ने प्रयास भइ रहेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।
बिहान ६ बजेतिर पहिलो झरेको भएपनि प्रहरीलाई भने बिहान साढे १० बजेतिर मात्रै स्थानीयले खबर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय उवा बाट प्रहरी सहायक निरीक्षक केशवराज बुढाथोकीको कमाण्डमा– ६ जना र इप्रका थवाङ बाट प्रहरी सहायक निरीक्षक रामु पौडेलको कमाण्डमा–४ जनाको टोली घटनास्थलमा पुगेको थियो ।
स्थानीय र जनप्रतिनिधिको सहयोगमा मगरको शब निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका एक दम्पतीको मृत्यु भएको छ ।
छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको हो । विक दम्पतिको गए रातिको पहिरोमा परि बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा शब फेला परेको हो ।
