तुलसीपुर, असार १९ । दाङको क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद मेटमणि चौधरी र निर्माण ब्यबसायी धात बुढा मगरले चेक अनादर सम्बन्धि मुद्दामा प्रहरीमा पुगेर आपसमा सहमति गरेका छन् ।
असार १७ गते बेलुका जिल्ला प्रहरी कार्यालयमा पुगेर दुबै जनाले आपसमा सहमति गरि मुद्दा टुँगाएको प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए ।
उनीहरु कसरी मिले भन्ने कुरा एकीन भइ सकेको छैन । प्रहरी अधिकारीहरु पनि बाहिर उनीहरु सहमति गरि प्रहरीमा सनाखत गर्न मात्रै आएको हुँदा कसरी मिले भन्ने कुरा थाहाँ नभएको बताउँछन् ।
नेकपा (एकीकृत समाजबादी) सका उपमहासचिव एवं प्रमुख सचेतकसमेत रहेका चौधरी बिरुद्धको लेनेदन मुद्दामा निर्माण ब्यबसायी मगरले आँफुहरुको कुरा मिलेको भन्दै प्रहरीमा लेनदेन सम्बन्धि मुद्दा अगाडि नबढाउन कुराको सनाखत गरेका थिए ।
सांसद चौधरी मन्त्री रहेको समयमा उनीहरुका बीचमा लेनदेन भएको स्रोतको दाबी छ । रोल्पाका निर्माण ब्यबसायी मगरले असार ४ गते सांसद चौधरी बिरुद्ध ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक अनादर मुद्दा हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएका थिए ।
तर, मगर आँफैले फेरि असार ८ गते हुलाक मार्फत नै अर्कौ पत्र प्रहरीमा पठाउँदै पहिले पठाएको जाहेरी फिर्ता लिन चाहेको कुरा उल्लेख गरेका थिए ।
