
दाङ, असार १५ । मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषी हुन सक्ने बताएका छन् ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै कँडेलले कृषीमा आत्मनिर्भर बन्ने बाटो पहिल्याउन आवश्यक रहेको बताए ।
खेतिको परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषी प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र रोजगारीको स्थायी स्रोतका रूपमा कृषी पेशालाई विकास गर्नुपर्ने मुख्यमन्त्री कँडेलले बताए ।
कृषिमा आत्मनिर्भर बन्नका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक पर्ने उनले जोड दिए ।
कृषीलाई अब जीविकोपार्जनको भर होइन, व्यवसायको मुख्य माध्यम बनाउँदै लैजानु जरुरी रहेको उनले बताएका थिए ।
कर्णालीको भौगोलिक अवस्थाले विशिष्ट कृषी उत्पादनका लागि सम्भावना बोकेको भन्दै त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषी क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने उनले बताए ।
कृषक पञ्जिकरण, कृषि सहुलियत ऋण, गुणस्तरिय बीउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको मुख्यमन्त्री कँडेलको भनाई थियो ।

