२०८३ असार ४ गते बिहिवार

प्रेस युनियनको ३४ औं स्थापना दिवसमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण


तुलसीपुर,जेठ १५ । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा तुलसीपुरमा पत्रकारहरुको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

प्रेस युनियन दाङ शाखाले जिल्लामा कृयाशिल पत्रकारहरु नि:शुल्क स्वास्थ्य परिक्षण गरेर स्थापना दिवस मनाएको हो।

कार्यक्रम नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय दिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

त्यस अबसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पत्रकार बलियो भएमात्र लोकतन्त्र र गणतन्त्र बलियो बन्ने बताएका छ्न ।

उनले पत्रकारिता मुलुकको लोकतान्त्रिक यात्रा र गणतन्त्र स्थापनाको मूल आधार भएको भन्दै पत्रकार स्वस्थ्य र निरोगी बन्न जरुरी रहेको बताएका हुन् ।

‘मुलुकमा लोकतन्त्र, प्रजातन्त्र ल्याउने, गणतन्त्र स्थापनामा जनचेतना जगाउने, अनि अहिले पनि लोकतन्त्रको निगरानी गर्ने काम पत्रकारले गरिरहेका छन्। उनले भने त्यसैले पत्रकार बलियो भए मात्र प्रजातन्त्र बलियो हुन्छ।’

चौधरीले प्रेस युनियन मुलुकको परिवर्तनको संवाहक भएको बताए। पत्रकारिताको संस्थापक, लोकतन्त्र स्थापनानै प्रेस युनियनले गरेको भन्दै देश जोगाउने संस्थाको रूपमा प्रेस युनियन रहदै आएको उनले बताएका थिए।

कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले जनताको आवाज बोकेर हिँड्ने पत्रकारहरु स्वस्थ स्फुर्त हुनुपर्ने कुरालाई ध्यानमा राख्दै अस्पतालले स्वास्थ्य परीक्षण कार्यक्रममा साझेदारी जनाएको बताए।

उनले आगामी दिनमा पनि पत्रकार र पत्रकारिता क्षेत्रको हक हितका लागि अस्पतालको तर्फबाट निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले ७० प्रतिशत नागरिकमा मुटु, मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी समस्या देखिँदै आएको जानकारी दिए।

उनले पत्रकारहरुको स्वास्थ्य परीक्षण कार्यक्रम गरिनु सकारात्मक पहल भएको उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, केन्द्रीय सदस्य नारायणी रजौरे, प्रेस चौतारी दाङ अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर लेखा समिति सदस्य राकेश बस्नेत लगायतले नेपाल प्रेस युनियनले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासमा खेलेको भूमिकाको चर्चा गरेका थिए।

कार्यक्रमको स्वागत नेपाल प्रेस युनियन दाङ जिल्ला वरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराईले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन प्रेस युनियनका केन्द्रीय सदस्य चेतन रेग्मीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सहसचिव उमा भण्डारीले गरेकी थिइन्।

साथै जिल्ला जनस्वास्थ्य कार्यालय दाङ, राप्ती प्रादेशिक अस्पताल तथा रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा ७५ जना पत्रकार तथा सञ्चारकर्मीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने ८ जनाले रक्तदान गरेका थिए।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *