तुलसीपुर , बैशाख २४ । प्यूठानकी एक महिला लागु औषध ब्राउन सुगरसहित दाङको भालुवाङबाट पक्राउ परेकी छन् ।
प्यूठानको ऐरावती गाउँपालिका–२ बह्राखुट्टीकी २० वर्षीया सरिता सार्की मंगलबार सवारी चेकजाँचका क्रममा दाङको भालुवाङबाट पक्राउ परेकी हुन ।
उनको साथबाट २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित बरामद भएको दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
दाङको घोराहीबाट सार्वजनिक यातायातमा यात्र गरि रहेकी उनी गोप्य सूचनाको आधारमा राप्ती गाउँपालिका–१ भालुबाङ पुलचोक नजिकैबाट पक्राउ परेको प्रहरीले बताएको छ ।
भालुवाङ – प्यूठान सडक खण्डमा भे १ ख ४३३२ नम्बरको यात्रुबहाक गाडीबाट उनी ब्राउन सुगरसहित पक्राउ परेकी थिइन ।
खान तलासी गर्ने क्रममा सार्कीले भित्री कपडामा लुकाइ छिपाइ राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डिएसपी शाहले जानकारी दिएका छन् ।
पक्राउ परेकी महिला माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
