२०८३ कार्तिक २३ गते आइतवार

बल्ल पासोमा फस्यो चितुवा


दाङ, असोज १९ । बाँकेको खजुरा गाउँपालिका –६ का वीरेन्द्र पुन मगरकी दुई बर्ष दुई महिनाकी छोरी लक्ष्मी पुन मगरकी छोरी खाएको आशंका गरिएको एक भाले चितुवा घटनाको १८ दिनपछि शुक्रबार फन्दामा परेको छ ।

गत भदौ ३० गते बेलुका घरको आँगनबाट लक्ष्मीलाई एक्कासि हराएकी थिइन । खोजी गर्दा घटनाको तीन दिनपछि ५०० मिटर पश्चिमको गिजरा सामुदायिक वन क्षेत्रमा बालिकाको अवशेष फेला परेको थियो । टाउको र एउटा खुट्टै मात्रै फेला परेको थियो । वीरेन्द्र पुन मगर भने घटना हुँदा मलेसियामा थिए ।

बीरेन्द्र श्रीमति सीता गर्भबति भएको तीन महिनामै बिदेस गएका थिए । बीरेन्द्र असोज २ गते मात्रै घर आएका थिए । भदौ ३० गते मात्रै उनले आफ्नी श्रीमति र सानी छोरी संग सामाजिक सञ्जालमा कुरा गरेका थिए ।

उनले श्रीमतिलाई सानी छोरीलाई दिएर बाँकेको राँझा एयरपोर्टमा आउन आग्रह गरेका थिए । तर, सोही दिन बेलुकी झन्डै ८ बजेतिर आँगन बाटै चितुवाले उनकी छोरी लक्ष्मीलाई लगेको थियो ।
घटना घटेको १८ दिनपछि सोही ठाउँबाट शुक्रबार भाले चितुवालाई नियन्त्रणमा लिइएको छ ।

नरभक्षी चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र एनटिएनसीले प्रयास जारी राखेका थिए । तीन वटा पासोहरु थापिएको थियो । दुई वटा हात्तीले नौं दिनसम्म चितुवाको खोजी गरिएको थियो ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले वन्यजन्तुबाट हानिनोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा एनटिएनसीको सहयोगमा एउटा भाले चितुवालाई पासोमा पारेर नियन्त्रणमा लिएको जानकारी दिए ।


तर, बालिका लक्ष्मीलाई खाने चितुवा कुन थियो ? भन्ने बारे यकिन भइ नसकेको प्रमुख गुप्ताले बताए । बच्चाको पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने उनले बताए ।

चितुवा नियन्त्रण गर्न कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा तीन ठाउँमा पासो थाप्दै आएको थियो भने पाँच वटा क्यामेरासमेत जडान गरेको थियो ।


नियन्त्रणमा रहेको चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा राखिएको छ । चितुवाको स्वास्थ्य परीक्षण गरेपछि कहाँ छाड्ने ? भन्ने विषमा थप छलफल गरी निर्णय गरिने भएको छ ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *