दाङ, भदौ १३ । बाँकेमा बिहीबार बिहान भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । घाइते मध्य थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।
उपचारका क्रममा घाइते मध्य दाङ घोराहीका ३० वर्षीय बिमल राईको दिउँसो ३ बजेतिर मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत राईको दिउँसो तीन बजेतिर मृत्यु भएको बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
उनी भन्दा पहिले बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपािलका – ६ का २४ बर्षीय सन्तोष भुसाल र बसमा सवार तुलसीपुर – ६ कै ६० बर्षीय मानबहादुर वलीको मृत्यु भएको थियो ।
दाङको तुलसीपुबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका –६ कोठारपुरमा अनियन्त्रित भइ बिहान सवा ११ बजेतिर सडक खण्डमै पल्टिएको थियो ।
कोहलपुर – नेपालगन्ज सडक खण्डमा तीब्र गतिको बसका अगाडिका पट्टा एकाएक भाँचिएपछि बस अनियन्त्रित भइ खण्डमै पल्टिएको भन्ने कुरा प्रारम्भीक अनुसन्धानबाट खुलेको डिएसपी डाँगीले जानकारी दिए ।
दुर्घटनाका अन्य घाइते मध्य २१ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा, ४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ ।
घाइते मध्य नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि एक जना डिस्चार्ज भएको प्रहरीले बताएको छ ।
