तुलसीपुर, बैशाख २४ । दाङको तुलसीपुरस्थित शिव शिखर कृषि सहकारी संस्था लिमिटेडका कागजात सरकारी टोलीले लगेको छ ।
आइतबार बेलुकी सहकारीमा छापा मारेर सरकारी टोलीले खान तलासी गरि आवश्यक फाइलहरु बरामद गरि लगेको हो ।
समस्याग्रस्त सहकारी ब्यबस्थापन समितिका सदस्य सचिव केशवप्रशाद पौडेल नेतृत्वको टोलीले बन्द रहँदै आएको सहकारी खोलेर आवश्यक कागजात लगेर गएको हो ।
अपराध अनुसन्धान महाशाखाका प्रतिनिधिका , स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनको रोहबरमा बिगत १५ महिना यता बन्द रहँदै आएको शिब शिखरको तुलसीपुर शाखामा खानतलासी गरि आवश्यक कागजात बरामद गरि लगिएको सदस्य सचिव पौडेलले जानकारी दिए ।
अब ती कागजात अध्यन गरि ऋणीको संख्या, प्रवाह भएको ऋण, बचत कर्ताले पाउनु पर्ने भुक्तानी के कति छ ? भनेर पत्ता लगाइने पौडेलले जानकारी दिए ।
शिव शिखर सहकारीको तुलसीपुर शाखा बाट मात्रै १३४ जना ऋणी देखिएको तथा उनीहरुको २ करोड १९ लाख बराबर रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यस्तै बचत कर्ताले १५ करोड बढी बचत गरेको अधिकारीहरुले जानकारी दिए ।
सबै कागजात अध्यनपछि पीडित अर्थात बचत कर्तालाई फिर्ता दिने रकमको अवस्था बुझ्न सहज हुने पौडेलले बताए । मुलुककै ठूलो मानिने यो सहकारीका संचालकहरु झन्डै डेढ बर्ष यता फरार रहँदै आएका छन् ।
संचालकहरुले बचत कर्ताहरुबाट बिभिन्न प्रलोभन देखाएर पैंशा उठाइ हिनामिना गरेका थिए ।
सहकारीको सिधान्त र उदेश्य भन्दा बाहिर गइ कम्पनी खडा गर्ने , गार्डेन मार्ट संचालन गर्ने तथा वचत कर्ताको पैंशा बिभिन्न निकाय खडा गरि कारोबारो संचालन गर्ने, जग्गा जमिन खरिद गर्ने र ती खरिद गरिएका जग्गा जमिनपनि बित्तिय संघ संस्थाबाट अश्वभाविक रुपमा कारोबार गर्ने गरेको पुष्टि भएको सदस्य सचिव पौडेलले बताएका थिए ।
तुलसीपुरस्थित शिव सहकारी संस्था झन्डै १५ महिना यता बन्द रहँदै आएका कारण सहकारीले संचालन गरेको मार्टपनि बन्द अवस्थामा छ । जस कारण भित्र रहेका लाखौं मूल्यका तयारी पोशाक, खाद्यान्न लगाएतका सामान बिग्रन तथा सड्न थालेका छन् ।