२०८३ असार ६ गते शनिवार

तरकारी खेतीका लागि अनुदानमा टनेल


तुलसीपुर, १५ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाले व्यवसायिक तरकारी खेती गर्ने किसानलाई टनेल वितरण गरेको छ । बेमौसमी तरकारी खेती गर्नेहरुलाई लक्षित गरेर टनेल वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक कुलराज चौधरीले जानकारी दिए । उनले नमुना किसानलाई छनोट गरेर अनुदान दिइएको पनि जानकारी दिए ।

कार्यक्रममा टनेल वितरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले सही सदुपयोग गरेर उत्पादन बढाउन आग्रह गरेका थिए । उनले राम्रो गर्ने किसानलाई थप अन्य अनुदान पनि दिइने जानकारी दिए । ‘कृषिमा व्यवसायीकरण गरेर जीवनस्तर सुधार्नु आवश्यक छ’ नगरप्रमुख पाण्डेले भने । उनका अनुसार पहिलो चरणमा १ सय किसानहरुलाई आवश्यकता अनुसार १ देखि ३ वटासम्म टनेल वितरण गरिएको छ ।

प्राविधिक सहायक चौधरीका अनुसार किसानहरुलाई पचास प्रतिशत अनुदानमा टनेल वितरण गरिएको हो । ‘एउटालाई ५ हजार ३ सय पर्दछ त्यसको पचास प्रतिशत कममा दिने गर्दछौँ’ उनले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ क्वाङ्गी निवासी कालिचरण चौधरीले टनेललाई उपयोग गरेर उत्पादन बढाउने बताए ।

उनले यो भन्दा अगाडि कतैबाट सहयोग नपाएकोमा भन्दै टनेल पाउँदा खुसी भएको जानकारी दिए । एउटा टनेल १२ मिटर लम्बाई र ६ मिटर चौडाईको हुने गर्दछ । एउटा टनेलको पाँच वर्षसम्म टिक्ने प्राविधिक सहायक चौधरीले भने । यसका साथै सिंचाई सुविधा कम भएको ठाउँमा थोपा सिंचाई सुविधाका लागि पनि अनुदान दिन लागेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *