काठमाडौं,चैत १ । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक., बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २०० भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् ।
परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ ।
अहिले ज्यान गुमाएहरूको परिवारलाई रूसी सरकारबाट राहत उपलब्ध गराउन र घाइतेको उपचार गर्न, नेपालीलाई फिर्ता पठाउन रूसी सरकारलाई अनुरोध गरेको पनि मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो। त्यसमा थप सात जनाको मृत्यु भएको पुष्टि भएसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ।
