
लिलाधर वली
दाङ, १४ जेठ ।
गुणस्तरहीन सामाग्री प्रयोग गर्दा घोराही उपमहानगरपालिका वडा नं. १४ को घोराही कवर्ड हलमा निर्माण गरिएको ड्रेस चेन्जीङ रुमको प्लाष्टर उप्किन थालेको छ । गत बर्षको भदौ–असोज महिनामा प्लाष्टर गरिएको उप्किन थाल्दा खेलाडीहरुलाई समस्या भएको छ । निर्माण पक्षको लापरवाहीका कारण प्रयोग भएको गुणस्तरहीन सामाग्री र सम्बन्धित निकायको बेवास्ताका कारण निर्माण गरिएको एकबर्ष नपुग्दै प्लाष्टर उप्किन थालेको हो । प्लाष्टर उप्किदा धुलो उड्ने समस्या भएको छ ।
खेलाडीहरुलाई साझ बिहान अभ्यास गर्ने स्थलका रुपमा रहेको उक्त स्थल धुलो उड्ने भएका कारण खेलाडीहरु समस्यामा पर्ने गरेका हुन । पिच उप्किएर धुलो उड््ने भएपछि उक्त स्थानमा बक्सिङका करिव ८० जना खेलाडीहरु समस्यामा परेका छन् । स्वास्थ्यका लागि खेल भनिए पनि खेल सिक्ने ठाउँमै धुलो उड्ने भएपछि धुलोका कारण बिरामी पर्ने समस्या रहेको खेलाडी आकास क्षेत्रीले बताए ।
‘खेल स्वास्थ्यका लागि भनिन्छ, तर यहाँ खेल खेल्दा धेलो उडेर बिरामी पर्ने समस्या रहेको छ’,उनले भने, ‘पानी नहाल्दासम्म खेल्न सक्ने अवस्था हुँदैन ।’ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि दश लाख रुपैयाँ खर्च गेर प्लाष्टर गरिएको थियो । तर कमसल सामग्री प्रयोग गरेका कारण निर्माण भएको एक बर्षमै पिच उप्किएको हो ।
पिच उम्किदासमेत सम्बन्धित निकाय मौन रहेको खेलाडीहरुको गुनासो रहेको छ । प्लाष्टर गरिएको पिच एक बर्ष नपुग्र्दै उप्किएपछि आफूहरुले जिल्ला खेलकुद विकास समितिका अध्यक्षलगायतका पदाधिकारीहरुलाई पटक–पटक जानकारी गराउँदासमेत सम्बन्धित पक्षले बेवास्ता गरेको खेलाडीहरुको गुनासो रहेको छ ।
निर्माणको काममा चरम लापरवाही हुदाँसमेत सम्बन्धित निकायको मौनताले लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको संरचना प्रयोगविहीन हुने अवस्थामा रहेको छ ।
