तुलसीपुर,फागुन २३ । तुलसीपुर उपमहानगरपालिकाले १ सय १४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १७ जना महिला श्रमिकहरुलाई सम्मान गरेको छ ।
महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनीका साथ बुधबार आयोजना गरिएको कार्यक्रममा नौमती बाजा संरक्षणमा जुटेको तुलसीपुर ४ मजुवास्थित जनचेतना आमा समुहका नौ जना महिलासहित पाँच जना पत्रकार महिला र तीन जना छाला जुत्ता सिलाउने पेशामा संलग्न तीन वटा विधामा श्रम गरिरहेका महिलाहरुलाई सम्मान गरिएको हो ।
पुरुष सरह महिलाहरुले पनि उत्तिकै श्रम गरेर आफ्नो परिवार चलाउन सक्षम भएको भन्दै उनीहरुको प्रोत्साहान स्वरुप सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले जनाएको छ ।
सम्मान ग्रहण पश्चात बोल्दै नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले उपमहानगरपालिकाले १५ वर्षदेखि पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणको खेलेको भूमिकाको कदर गरेको भन्दै खुशी व्यक्त गरिन् ।
उपमहानगरपालिकाले गरेको सम्मानले पत्रकारिता क्षेत्रबाट महिला लगायत आवाज विहिनहरुको आवाज बाहिर ल्याउन उर्जा थपेको बताइन् । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता तथा मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं न्युसिपिसीका अध्यक्ष नवराज लामिछानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खड्काले दलिय आन्दोलनसहित हरेक क्षेत्रको हरेक कार्य सफल बनाउन महिलाहरुको अहम भूमिका रहेको बताए । उनले राजनीतिक क्षेत्रमा एसियाका देश मध्ये ३३ प्रतिशत महिला सहभागीता गराउने नेपाल पहिलो देश भएको बताए । साथै उनले नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै भएको बताउँदै महिलाहरुको संख्याको आधारमा सहभागीता हुनु पर्ने बताए ।
लैंगिक विभेद, जातिय, सामाजिक, राजनीति लगायत समाज रुपान्तरणको क्षेत्रमा महिलाहरुको उत्तिकै सहभागीता हुनु पर्नेमा जोड दिए । साथै मेयर खड्काले महिला शशक्तिकरणका लागि उपमहानगरपालिकाले सहयोग गर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै न्युसिपिसीका अध्यक्ष नवराज लामिछानेले महिला अधिकार सुनिश्चित नहुँदासम्म बालबालिकाको अधिकार शुनिश्चित नहुँने बताए । समाज लगायत देशका ठुला ठुला परिवर्तनमा पुषको भन्दा महिलाहरुको योगदान बढी भएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा जर्मनी नागरिक बोबराले नेपालमा आएको समयमा महिलाहरुको कार्यक्रममा सहभागी हुने अवसर पाएको भन्दै खुशी व्यक्त गरिन् । जर्मनीमा पनि महिला दिवस मनाउने गरेको भन्दै आफ्नो घरमा जन्मिने रहेक छोरीलाई सम्मान गर्नु पर्ने बताइन् ।
कार्यक्रममा नागरिक समाज दाङका पूर्व अध्यक्ष टिकाराम रेग्मीले पहिलेको तुलनामा समाजमा महिला लगायत जातिय विभेद कम हुँदै गएको भन्दै खुशी व्यक्त गरे । 
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना, सम्बाद समूह तुलसीपुर,दलित महिला संघ दाङ, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र दाङ र सृजना महिला वचत तथा ऋण सहकारी संस्थाको साझेदारी र विभिन्न एक दर्जन बढी संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको थियो ।
फेडो दाङका अध्यक्ष युवा कराराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विषय प्रवेश अधिकारकर्मी शुष्मा लामिछाने गिरीले गरेकी थिइन् । सामाजिक विकास समितिका सदस्य बसन्ता केसीले धन्यवाद गरेको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रम हुनु पूर्व बाजागाजा सहित महिलाहरुको टोलीले तुलसीपुर बजार परिक्रमा गरेको थियो ।
