घोराही, माघ ११ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य चयनका लागि दाङको घोराहीमा मतदान सुरु भएको छ ।
घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङगणमा रहेको मतदान केन्द्रमा बिहान नौं बजेपछि मतदान सुरु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरेका थिए । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले मतदानमा सहजताका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।
मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । मतदानका लागि विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।
निर्वाचनमा लुम्बिनी प्रदेशका एक सय ९ स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्य गरेर ३ सय ५ जना मतदाता रहेका छन् । उनीहरुको मतबाट दुई जना राष्ट्रिय सभा सदस्य चुनिने छन् ।
त्यसका लागि अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरि दुई सिटका लागि ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन ।
गठवन्धनका तर्फबाट महिला कोटामा नेपाली काँग्रेसकी विष्णुदेवी सापकोटा, नेकपा एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह प्रतिष्पर्धामा छन् भने अन्य कोटामा गठवन्धनबाट नेकपा माओवादीका झक्कु सुवेदी , एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गोविन्द चौधरी प्रतिष्पर्धी छन् ।
मतदान सकिए लगतै मतगणना सुरु हुने र केही बेरमै मत परिणाम सार्वजनिक हुने छ ।
