कोहलपुर, मंसिर २५ । कोहलपुर नगर प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ ।
पहिलो समूहको दिक्षान्त समारोहपनि भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
नगर प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए ।
उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको स्पष्ट पारे ।
‘नगर प्रहरीलाई मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई सुम्पेका थियौं,’ आचार्यले भने–‘कसैको दवाव र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन ।
गतिशिल नगरपालिका बनाउने हाम्रो उद्देश्यमा नगर प्रहरीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ ।’
नगर उपप्रमुख संगिता सुवेदीले संबिधान र स्थानीय सरकार संचालन ऐन अनुसार नै कोहलपुर नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरेको बताए ।
उनले पारदर्षी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्न दिक्षित प्रहरी जवानहरुलाई निर्देशन दिइन ।
त्यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले नगरपालिकाले आवासिय सुविधासहित नगर प्रहरीलाई तालिम दिनु नमुना योग्य उच्च अनुशासन, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम पुरा गरेकाहरुले त्यही अनुरुप जिम्मेवारी वहन गर्न आग्रह गरे ।
समारोहमा कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत टीकाराम ढकालले प्रशिक्षार्थीलाई सपथ गराएका थिए ।
तालिमका संयोजक प्रहरी निरीक्षक यामबहादुर मल्लले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
७ महिला र १२ पुरुष गरी १९ जना प्रहरी जवानलाई आवासिय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।
कोहलपुर नगरपालिकामा थापाको कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवलदार र १९ प्रहरी जवान गरी २४ जनाको टोली खटेको छ ।
उनीहरु सबैलाई तह अनुसार नेपाल प्रहरीले पाउने सेवासुविधा उपलब्ध गराइएको छ ।
नगरपालिकाले नगर प्रहरीका लागि छुट्टै ब्यारेक नै बनाएको छ ।
