तुलसीपुर,पुस १३ । दाङको तुलसीपुरमा सञ्चालन हुन लागेको राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ ।
युथस अफ तुलसीपुरले मंगलवार पत्रकार सममेलनको आयोजना गरि नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको तेश्रो स्मृतिमा यहि पुस १६ गतेदेखि १८ सम्म उक्त प्रतियोगिता हुन लागेको जानकारी दिएको छ ।
गत वर्ष चैत महिनामा हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण रोकिएको थियो । स्व. खड्काले दाङमा गरेको योगदानको उच्च सम्मान र कदर गर्दै गुमनाम खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको युथस अफ तुलसीपुरका सल्लाहाकार अरुण लहरेले जानकारी दिए ।
उनका अनुसार उक्त प्रतियोगिता ५ लाख ४३ हजार रुपैयाको हो । यो प्रतियोगिता नेपालमै सबैभन्दा ठुलो रासीको हो । प्रतियोगितामा २५ जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ भने ३ वटा विभागिय टोली हुने छ ।
कार्यक्रममा देशभरका खेल बिज्ञहरुको पनि उपस्थिती रहने छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई खान÷बस्नको व्यवस्था गरिएको छ ।
खेलको उद्धघाटन लुम्बिनी प्रदेशका बनमन्त्री सुरेन्द्र हमालले गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त कार्यक्रममा स्व. खड्काका छोरा अनुराग खड्काको पनि उपस्थिती रहने छ ।
युथस अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो । ३ दिनसम्म चल्ने खेललाई सफल बनाउन १७ लाख बढी लागत लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता हुन लागेको हो ।
