
दाङ, पुस १२ । हाल फरार रहेका घोराही कारागारका नाइके २८ बर्षीय यामराज परियार प्रहरी जवान धनबहादुर चौधरीलाई होटेलको कोठामै थुनेर भागेको तथ्य उजागर भएको छ ।
बिहीबार बिहान ११ बजेतिर छालाको चेकजाँच गराउनका लागि भनेर प्रहरी जवान धनबहादुरले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलमा राखेर नाइके यमराजलाई कारागारबाट लगेका थिए ।
तर, धनबहादुरले सरासर अस्पताल नलगेर यमराजसंगै होटेलमा पुगेका थिए । यमराजले नै प्रहरी जवान यमराजलाई विश्वासमा पारेर होटेलमा नास्ता खान जाँउ भनेर लगेका थिए । यमराजलाई विश्वास गर्दा आज धनबहादुर आँफै कष्टडिमा पुगेका छन् ।
होटेलमा पुग्दा थप दुई युवति भेटिए । उनीहरुले संगै बसेर कफिपनि खाएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए ।
पक्राउ परेका दुई युवति मध्य एकजना तुलसीपुरकी र अर्की घोराहीकै हुन । उनीहरुको बयानका आधारमा प्रहरी जवान धनबहादुर र यमराज एक÷एक वटा युवतिको साथमा बेग्ला बेग्ला कोठामा छिरे ।
‘उनीहरुका बीचमा यौन सम्बन्ध पनि भएको देखिएको छ,’ एक अनुसन्धान अधिकृतले भने ‘ त्यसपछि यमराजले प्रहरी जवान धनबहादुर र अर्की एक युवति बसेको कोठामा बाहिरबाट चुक्कुल लगाइ प्रहरी जवान धनबहादुरकै मोटरसाइकल लगेर उनी भागेको देखिएको छ।’
यमराजले बाहिरबाट चुक्कल लगाइ दिएपछि कोठामै थुनिएका प्रहरी जवान धनबहादुर बेलुका चार बजेतिर मात्रै अरुले बाहिरबाट लगाइ दिएको चुक्कुल खोलिदिएर पछि बाहिर निस्किन सफल भएका थिए ।
‘यमराजको विश्वासमा पर्नु र आँफै युवतिसंग बस्न उसैलाई मोटरसाइकलको चाँबी दिने जस्ता गम्भीर लापरबाही धनराजले गरेको देखिन्छ,’ ती अनुसन्धान अधिकृतले भने ।
जिल्ला प्रहरी कार्यालयले घटना अनुसन्धान गर्न जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालको नेतृत्वमा एक अनुसन्धान टोली गठन गरेको छ ।
कारागारको घटना भएको हुँदा घटना अनुसन्धान गर्ने सम्पूर्ण जिम्मा भने जेलरलाई नै हुन्छ । घोराही कारागारका जेलेर युवराज परियारको समेत मिलेमतोको आशंका पछि उनलाई पदमुक्त गर्दै जिल्ला प्रशासनमा तानिएको छ । जेलेर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलेर अमर वलीलाई तत्कालका लागि प्रदान गरिएको छ ।
स्रोतका अनुसार कारागारका जेलेर पुस ६ गतेदेखि १३ गतेसम्म बिदामा बसेका थिए । तर, त्यही बीचमा बिदा बसेका जेलर परियारले कारागारका नाइके यमराजलाई पुस ८ गते आएर आँफै औषधी उपचारका लागि अस्पताल लैजाने अनुमति दिएका थिए ।
तर, उनी कुनैपनि त्यस्तो बिरामी भने थिएनन् । तैपनि उनलाई छाला चेकजाँचका लागि भनेर पठाउनुले मिलेमतोको आशंका भइरहेको छ ।
