तुलसीपुर, पुस १० । लुम्बिनी प्रदेश निर्माण ब्यबसायी संघका अध्यक्ष बलिभद्र रानाको पहलबाट राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले झन्डै दुई अर्व मूल्य बराबरको जग्गा पाउने लगभग निश्चित जस्तै भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मेडिकल कलेज सञ्चालन गर्न सहयोग पुगोस भनेर घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित नवलपुर बहुउदेस्सिय सरोकार समितिले झन्डै साढे २० बिगाहा जग्गा निशुल्क दिन लागेको हो ।
समितिका अध्यक्ष बलिभद्र रानाले प्रतिष्ठानलाई कलेज सञ्चालन गर्न नवलपुरमा २० बिगाहा ९ कट्ठा जग्गा दिने सम्झौंता भइसकेको जानकारी दिए । प्रतिष्ठानलाई निशुल्क प्रदान गर्न थालिएको जग्गाको हालको मूल्य लगभग सवा दुई अर्व जति पर्ने अध्यक्ष रानाले बताए ।
अधिकाँस जग्गा स्थानीयले चर्चिदै आएका थिए भने केही जग्गा घोराही नगर विकासको नाममा समेत रहेको अध्यक्ष रानाले जानकारी दिए ।
हालसम्म भनेजति जग्गा नपाउँदा प्रतिष्ठानले मेडिकल कलेज सञ्चालन गर्न सकिरहेको थिएन ।
सर्वसाधारणले घर नजिकै स्तरिय स्वास्थ्य सेवा सुबिधा पाउन भन्ने उदेश्यका साथ सबैलाई संझाइ बुझाइ गरि जग्गा दिन सहमत गराएको उनले बताए ।
पुस ४ गते सरोकार समिति र प्रतिष्ठान बीच जग्गा दिने बारे सम्झौता भइसकेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. बशन्त लामिछाने र सरोकार समितिका अध्यक्ष रानाका बीचमा जग्गा उपलब्ध गराउने सम्झौता भइसकेको छ । घोराहीका मेयर नरुलाल चौधरीको रोहबर र प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापालाई साँक्षीका रुपमा राखिएको छ ।
प्रतिष्ठानका लागि घोराहीको नारायणपुर, झिङ्नी र देउखुरी क्षेत्रमा पनि जग्गा खोजीको प्रयास भइरहेको प्रतिष्ठानका प्रेस संयोजक निशान दाजु भट्टराईले जानकारी दिए ।
माधवकुमार नेपालले गरे स्थलगत अनुगमन
नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधबकुमार नेपालले शनिबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र मेडिकल कलेजका लागि निशुल्क प्रदान गरिएको जग्गाको स्थलगत अबलोकन गरेका छन् ।
त्यसक्रममा निमित्त उपकुलपति डा. लामीछानेले उपक्षेत्रीय अस्पताल हुँदै प्रतिष्ठानसम्म आइपुग्दा अस्पतालले गरेका प्रगति र उपलब्ध सेवा बारे अध्यक्ष नेपाललाई अबगत गराएका थिए ।
उपकुलपति लामिछाने र समितिका अध्यक्ष रानाले पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई घोराहीको नवलपुरमा मेडिकल कलेज सञ्चालन गर्नको लागि जग्गा प्रात्तिको प्रक्रिया अन्तिम चरणमा रहेको हुँदा अब त्यो क्याबनेटबाट पारित गराउनका लागि सहयोग मागेका थिए ।
जबाफमा अध्यक्ष नेपालले आफ्नै पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको हुँदा त्यो जग्गा प्राप्तीका लागि क्याबनेटबाट निर्णय गराउनेदेखि भौतिक संरचना निर्माणमा समेत सघाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
