तुलसीपुर,पुस ९ ।राप्ती आँखा अस्पताल रक्षाचौरले पछिल्लो समय हिंसा प्रभावित महिलालाई सेवा प्रदान गर्दै आएको छ । अस्पतालले बितेको ३ वर्षमा ५६ जना हिंसा प्रभावित महिलालाई सेवा प्रदान गरेको जनाएको छ ।
अस्पतालका बाह्य कार्यक्रम संयोजक एवं नेतृ अधिकृत शालिकराम गौतमले पछिल्ला केही वर्षदेखि अस्पतालमा हिंसा प्रभावित महिलाहरु सेवा लिन आउने क्रम बढ्न थालेको बताए् ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को हालसम्म १७ जना हिंसा प्रभावित महिलाले सेवा लिएका उनले जानकारी दिए । त्यसमध्ये १३ जना महिला श्रीमान पीडित,अन्य ४ जना भने केही श्रीमान÷श्रीमती दुवैजना कुटपिट गरेको,छोराबाट, देवरबाट कुटपिटमा परेकाहरु रहेको अस्पताल प्रशासनले जनाएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा १७ जना र २०७७÷०७८ मा २३ जना हिंसा प्रभावित महिलाले सेवा लिएका छन् । गत वर्षको तथ्याङ्क हेर्दा अस्पतालबाट ४८ प्रतिशत महिलाले सेवा लिएका छन । महिलाहरुमा घरदेखि वन जंगलसम्मको कामको जिम्मेवारी बढी हुने, खाना पकाउँदा धुँवा र ग्यास वा अन्य वातावरणको असरले गर्दा महिला बढी आँखा पीडित हुने चिकित्सक बताउँछन् ।
त्यस्तै रक्षाचौर र बहादुरगञ्जबाट समेत गरि अस्पतालबाट सन २०२० सम्म २९ लाख ८४ हजार २ सय ९४ जनाले सेवा लिएका छन । त्यसमा १ लाख ८८ हजार ४ सय ९१ जनाले मोतियाबिन्दुको शल्यक्रियाको सेवा लिएका छन ।
हिंसा रोकथामका लागि कार्यक्रम
नेपाल नेत्रज्योती संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज राप्ती आँखा अस्पताल रक्षाचौरमा लैगिंकतामा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्व सम्बन्धि समन्वयात्मक कार्यक्रम भएको छ ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्काले अस्पताललाई लैगिंक मैत्री अस्पताल बनाउन लागेको बताए । उनले हिंसा न्यूनिकरणका लागि आफुबाटै सुरुवात गर्नुपर्ने बताए । कार्यक्रममा अस्पतालका डाक्टर सरेश रसाइलीले पछिल्ला वर्षहरुमा महिलासगै पुरुष पनि हिंसामा पर्ने गरेको भन्दै पिडितहरुको पहिचान गरि सेवा दिने बताए ।
कार्यक्रममा अधिकारकर्मी सुष्मा गिरी,तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठ, महिला रक्षक सञ्जाल दाङका सचिव पद्यमा चौधरी, ओरेक दाङका कल्पना चौधरी,उपमेयरमहिला सुरक्षा आवसका ज्ञानु शाही लगाएतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल नेत्र ज्योती सघं दाङका सहसचिव चिरञ्जवी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रसासक किरण गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण सुचना अधिकारी बालाराम खड्काले गरेका थिए । सो अवसरमा हिंसा निवारणका लागि समितिपनि गठन गरिएको छ ।
